आख्यानकार पंचम अधिकारीको कथासङ्ग्रह प्रवासीको देश हुन्न लोकार्पण भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गर्नुभयो ।
आख्यानकार पाण्डेले पंचमको कथासङ्ग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने बताउनुभयो । कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै कथाकार पंचमको शक्ति र सामर्थ्य रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, समीक्षक बानियाँले आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने भए पनि यो कथासङ्ग्रह पढेपछि प्रशंसा नगरी चुप बस्नै नसकेको बताउनुभयो । ‘अधिकारीको काव्य शिल्प काव्यिक र बहु आयामिक छ’ बानियाले भन्नुभयो– ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बीजारोपण गरेको छ ।’
त्यसै गरी समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राख्नुभयो । ‘अधिकारीका कथाले उत्तर आधुनिक र चेतना अँगालेका छन्,’ उहाँले भन्नुभयो, ‘ कृतिमा अति यथार्थवाद र जादुयी यथार्थवाद र अधि आख्यानको प्रयोग सफल छ ।’
प्रवासीको देश हुन्न सङ्ग्रहमा १४ वटा कथा समावेश छन् । शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ । लेखक अधिकारीको यसअघि ‘पथिक प्रवासन’ (२०६७) प्रकाशित छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८१, १२:३१