काठमाडौँ । सरकारले १० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप एचपीभी नियमित रूपमा लगाउने तयारी गरेको छ ।
गत वर्ष देशभरका १० हजार किशोरीलाई दुई मात्रा लगाइएको यो खोपलाई अर्को वर्षबाट नियमित गर्ने योजना बनाइएको सरकारले जनाएको छ । नेपालमा महिलालाई हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै पाइएकाले किशोरीलाई यो खोप अनिवार्य दिने योजना बनाइएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले सीआईएनसँग बताउनुभयो ।
सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । यसैबिच दुई मात्रा एचपीभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट किशोरीलाई जोगाउन सकिने क्यान्सर रोग विशेषज्ञले बताएका छन् ।
यौन जीवन सुरु हुनुभन्दा अगाडी नै यो खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउन सकिने भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१, १९:३९