काठमाडाैँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ । ओमानमा नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो ।
प्रतियोगिताको साबिक बिजेता नेपाल यसपटक सेमिफाइनलबाटै बाहिरिएको हो । यससँगै नेपालको एसिया कप खेल्ने सपना यसपटकका लागि अधुरै भएको छ ।
यूएई भने प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनलमा यूएईले ओमान र हङ्कङमध्ये एक टोलीसँग खेल्नेछ । अर्को सेमिफाइनलमा हङ्कङ र ओमान आजै खेल्दैछन् ।
गुल्सन झाले दुई तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर ११९ रन बनाएको थियो।
नेपालका सन्दीप जोराले ५०, गुल्सन झाले २० र करण केसीले १७ रन बनाउनु बाहेक अरु कुनै ब्याटरले दोहोरो अङ्कमा स्कोर गर्न सकेनन् ।
आसिफ शेख ८, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी समान ५, कुशल मल्ल ३, सोमपाल कामी २ र कुशल भुर्तेल शून्यमा आउट भए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१, १४:५१