एसीसी प्रिमियर कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हराएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सके पछि नेपालले ३२ रनको जित हात पारेको हो ।
नेपालका दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र गुल्सन झाले दुई दुई तथा अविनाश बोहोरा र कुशल मल्लले एक एक विकेट लिए । कतारका कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, बनाए पनि टोलीको हार टर्न सकेन ।
पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको ६४ र आसिफ शेखको ५२ रनको मद्दतमा २१० रन बनाएको थियो । अन्तिम ओभरका ६ बलमा ६ छक्का प्रहार गरेका दीपेन्द्रले मात्र २१ बलमा अविजित ६४ रन बनाउनुभएको थियो । यससँगै दीपेन्द्र एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने नेपालको पहिलो र विश्वकै पाँचौ ब्याटर बन्नुभएको छ ।
यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा सोमबार हङ्कङ्सँग खेल्नेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१, २०:०२