देशकै नमूना मदनपोखरा गाउँ र मदनपोखराको सान, सामुदायिक रेडियो मदनपोखरामा काम गर्न थालेको २५ वर्ष भएको छ । हामी अहिले रजत महोत्सवमा छौँ । सुरूका दिनमा दैनिक चार घण्टा मात्र रेडियो चल्थ्यो ।
जतिबेला जम्माजम्मी २१ जना सहकर्मी थियौँ । सबैले स्यमसेवकको रूपमा काम गरिन्थ्यो ।
रेडियोमा बोल्ने हुटहुटी यति थियो कि भनिसाध्य छैन । तर ‘यो सामुदायिक रेडियो मदनपोखरा हो, तपाईं कहाँ हाम्रो आवाज कस्तो सुनिन्छ ? हामीलाई खबर गर्नु होला है’ भन्न पनि महिना दिन जति पालो कुर्न पर्ने बेला थियो ।
धेरै वर्ष त सुखी, रेडियोमा बोलेको बाटाघाटा चिनेजानेका साथिभाइलाई म बोल्या थेँ, कस्तो सुनियो हँ आज ? भन्दै हिँडियो । सानोतिनो आँट र हिम्मतले पालो पाइन्थ्यो र रेडियोमा बोल्न ? र पनि समस्याभन्दा सम्भावना नै प्यारो लाग्ने ।
त्यतिबेला काम भनेको काठमाडौँबाट प्लेनमा भैरहवा बुटवल हुँदै आउने बिहान काठमाडौँमा बजेको कार्यक्रम बेलुका ६ बजे रेडियो मदनपोखराबाट बजाउन रिले दौड जस्तै गरी ल्याइन्थ्यो ।
कहिलेकाहीँ काठमाडौँबाट आउने पाहुनालाई नयाँपाटीमा लिन जाने र उनीहरूका झोला समाउने अनि बाटो देखाउँदै ल्याउने । व्यवस्थापनको निर्देशन नै सर्बोपरि हुन्यो बरै । शब्दसँग साटिएको जीवन सदा सुन्दर बन्ने आशाको त्यान्द्रो समाएरै बसियो जाडो याममा छेपारोले घोचो समाएर घाम तापेझैँ ।
सफलताको उचाइ बढिरहोस् र इतिहासमा फरक कामले स्थापित व्यक्तित्व हुन सकियोस् भन्ने नै ध्याउन्न थियो, छन त तर खै, रेडियोप्रति आकर्षण र आस्था भने मनैदेखि थियो ।
सुरूसुरूमा दैनिक आउने क्यासेट क्यु गर्ने, एसाईडबी साइड मिलाउन पनि एकदमै धौ हुने । लेख्नलाई रेडियोले कहिलेकाहीँ रिफिल दिन्थ्यो । समाचार बटुल्बाटुलका लागि कापी नहुँदा काम गत्ता, प्याक च्यातेर पनि लेख्नपर्ने अवस्था थियो ।
आस्था टुट्न नदिने र विश्वास जनतामा कायमै राख्नु चुनौती थियो रेडियोलाई । सुखद सुरुवात उत्साह र उमङ्गको यात्रा ! अभियानको यात्रा !!
बिस्तारै हामी कार्यक्रम उत्पादनतिर लाग्यौँ । मैले कार्यक्रम ‘पाका पुस्ता’, ‘परिवेश बोल्छ’ , ‘किसान बोल्छ’, ‘पशुसेवा सन्देश’ जस्ता साप्ताहिक कार्यक्रम उत्पादन गर्थेँ । कार्यक्रम गाउँगाउँ र घरघरमै पुगेर क्यासेटमै रेकर्ड गरिन्थ्यो । रेडियोमा साधनस्रोत एकदमै कम थियो । कहिलेकाहीँ रिल बेरिएर टाढाटाढाबाट ल्याएको रेकर्ड बजाउन नमिल्ने हुँदा धेरै नै सास्ती हुन्थ्यो । पैदल दुई दिन लाएर ल्याएको मिहिनेतको फल खेर जानु निश्चिय नै दुखको कुरा हो ।
रेडियोको प्रविधि अहिले जस्तो आधुनिक भइसकेको थिएन त्यसबेला । ग्रामीण भेगका लागि सामुदायिक रेडियो मदनपोखरा एउटा असल साथीको भूमिकामा थियो । यो दक्षिण एसियाकै पहिलो गाउँले सामुदायिक रेडियो हो ।
यो रेडियोले सूचना, ज्ञानगुनका विषयबस्तुसँगै मनोरञ्जन पनि प्रदान गर्ने भएकाले बालबालिकादेखि पाका उमेरका सबैका लागि साथी बनेको छ । अझ भन्नुपर्दा, स्थानीय भाषालाई नै प्राथमिकताका साथ रेडियोले सूचना तथा मनोरञ्जनका सामग्री प्रसारण गर्दा स्थानीयस्तरमा यो रेडियोको भूमिका झनै प्रभावकारी र महत्वपूर्ण छ ।
समाज परिवर्तनका लागि सामुदायिक रेडियो मदनपोखराले निर्वाह गरेको भूमिकामाथि पनि सबैका मुखारवृन्दबाट चर्चा सुन्दा कता कता गर्व महसुस हुन्छ । जीवनको महत्वपूणर् यौवन अवस्था रेडियोमा नै बिताए पनि यो समय समुदायको भविष्य र भरोसासँगको सहकार्य गरिएकोमा खुशी लाग्छ ।
सबै पक्षको अथक मिहिनेत र प्रयासले टोल, गाउँ, सहर, बजार हुँदै देशविदेशमा पनि पाल्पाको सामुदायिक रेडियो मदनपोखराको चर्चा हुन थाल्यो । कयौँ रेडियोकर्मी साथीले विदेश जाने मौकासमेत पाउनुभयो । आयोजकले नै टिकटको व्यवस्थापन गरिदिएर काठमाडौँ भैरहवा प्लेनमा जान पाउँदा केही साथी खुसीले गदगद भएको दृष्य अहिले पनि यी आँखामा झल्झली नाच्ने गर्दछ ।
मलाई भने त्यस्तो अवसर कहिल्यै जुरेन । विदेशी र स्वदेशी आयोजकहरूले आयोजना गर्ने अरु तालिममा त म पनि धेरै पटक सहभागी भएको छु । विशेष गरी प्राविधिक पक्षका धेरै तालिममा सहभागी हुन पाएँ ।
क्यासेटपछि सीडीको चलन आयो । काठमाडौँमा उत्पादन हुने कार्यक्रम ‘असल शासन’ सीडीमा नै आउँथ्यो । तर हामीकहाँ भएको सिडी प्लेयरमा बज्ने भएपछि पर्यो फसाद । यसबीच कुनै दातृ निकायले एउटा कम्प्युटर दियो अनि हतारहतार, बल्लतल्ल कम्प्युटरबाट प्लेगरी क्यासेटमा नै रेकर्ड ल्याएर बजाउन थालियो ।
स्टुडियोमा कम्प्युर थिएन, एमपी थ्री नबज्ने सीडी प्लेयर मात्र थियो । स्टुडियोमा टेलिफोन, ईन्टरनेट केही थिएन । अलि पछि टेलिफोनको प्याइन्ट पाएपछि करिब साढे ३ किलोमिटर टाढाबाट रेडियोले आफैँ तार तानेर टेलिफोन ल्यायो ।
कहिले ट्याक्टरले त कहिले डोजरले, कहिले घाँस काट्नेले, कहिले केले त कहिले केले तार छुट्ने अनि भर्याङ बोक्दै खुबै बनाउन हिँडिरहनुपर्ने, बुटामा चढ्न सक्ने साथी मानबहादुर र म खुब दुगुररियो । बिहान, साँझ स्टुडियोमा ड्युटी दिउँसोमा टेलिफोन तार जोड्न । मनमा भावना, सम्भावना सबै सहकार्यकै थियो ।
रेडियो १०० वाट, २५० वाट हुँदै ५०० वाटमा चल्न थाल्यो । यसैबिच एसटीएलबाट सुरू भयो । बगनासकाली गाँउपालिकाको बगनास डाँडाबाट रेडियो घन्कियो । बिजुलीको लाइन छिनछिनमा गइरहने जेननेटरले पनि लामो समय काम नगर्ने ।
खर्च धेरै भो, रेडियोले धान्न नसक्ने गुनासो पटकपटक व्यवस्थापनबाट आउन थाल्यो । चट्याङबाटबाट पनि पटकपटक ठूलो क्षति हुन थाल्यो । रेडियो सञ्चालनका उपकरणहरू पनि पटकपटक बिग्रेपछि रेडियोको खर्च बढ्न थाल्यो । उपकरणहरू बिग्रिए मुटुले ठाउँ छोड्न थाल्यो । किन बिग्रियो ? प्राविधिक कोेबस्दा बिग्रिएको हो ? के हेरेर बसेको ? जस्ता बोलिवचन सुन्नुपर्दा सातो जान्थ्यो ।
तर समस्या मात्र थिएनन्, कति धेरै सम्भावना पनि थिए । बिगार्ने प्रविधिले होइन, प्रवृत्तिले हो । ४०/५० किलोका सामान बनाउन काठमाडौँ लैजादा द्वन्द्वकालमा बाटाभरि नै हुने चेकिङका बेला धेरै गाह्रो हुन्थ्यो । मेसिन गाडीबाट झार, अलि परैसम्म बोकेर लैजाउ अनि फेरि चढाउ गर्नुपर्ने ।
घरि पेटको साहारामा, घरि काँधमा हालेर लगियो । काठमाडौ पुगेपछि ३/४ तलामाथि पुर्याउनुपर्ने । चित्त दुखे पनि, रिस उठे पनि संसार जित्ने विनम्रताले नै हो । सम्मान पाउने शालीनताले नै हो । सम्बन्ध बन्ने हार्दिकताले नै हो । सफलता पाउने सङ्घर्षले नै हो । सबैको प्यारो हुने सहजताले नै हो भन्ने ठानेर काम गरियो ।
सही समय कसैका लागि कहिल्यै पनि आउँदैन । सबैले आएको समयलाई सही आफैँले बनाउने हो ! सस्थाप्रति सधै सहज र ईमान्दार बनिराखियो ।
काम गर्दै जाँदा समयसँगै धेरै परिवर्तन आए । रेडियो सञ्चालनमा स्टेसनमा ईन्टरनेट र टेलिफोनको सुविधा हुन थाल्यो । भवन निर्माण हुन थाले सुविधासम्पन रेडियो स्टेसनका रूपमा परिचित हुन थाल्यो सामुदायिक रेडियो मदनपोखरा ।
यसैबीच रेडियोको तेतृत्त्व पनि परिवर्तन भयो । युवा जोश, जाँगर नयाँ उत्साह नयाँ सोच, छिटोछरितोको रूपमा परिचित रेडियोको स्थापनादेखि नै काम गरिरहनुभएका पत्रकार राजेश अर्यालको अगुवाइमा रेडियो घन्किन थाल्यो ।
आवश्कता र समस्या रेडियोबाट सजिलै थाहा पाउन सकिन्छ । स्थानीय सरोकारका कुरा आफ्नै भाषा र लवजमा सुन्न र राख्न पाउनु नै सामुदायिक रेडियो मदनपोखराको विशेषता हो ।
सहरदेखि गाउँसम्म सूचनाको सहज पहुँच, सामाजिक परिवर्तनका लागि महत्वपूणर् अभियानहरु चलाएर विभेदको अन्त्य, विभिन्न पेशा, वर्ग, समुदायमा आधारित कार्यक्रम उत्पादन गरी समाजको सन्तुलन र मूल्य-मान्यतालाई सशक्तिकरण र विविधिकरण गर्न सामुदायिक रेडियो मदनपोखराले काम गरिरह्यो, त्यसैले मुख्य सञ्चारमाध्यम बनेको छ ।
रेडियोे आम जनतामा पहुँचको दृष्टिले सबैभन्दा अगाडि र सर्वव्यापक, उपयोगी, सजिलो, छिटो र स्थानीय समाचार, कृषि उत्पादन, बजार भाउ, गाउँलेलाई चाहिने बजारको समाचार र बजारलाई चाहिने गाउँको समाचार प्रसार गर्ने, जिज्ञासा मेटाउने, कुनै विषयमा अभिमत लिने, गीतसङ्गीतबाट मनोरञ्जन दिने कार्यको परिपूरक भइसकेको सामुदायिक रेडियो मदनपोखरा गाउँले र सहरका सुविधाविहीनहरूको विकास प्रयासलाई तीव्रताका साथ अघि बढ्यो ।
रेडियोको विशेषता नै समुदायका सदस्यहरु आपसमा मिलेर जनताको पहुँच र सहभागितामा कार्यक्रम परिकल्पना, उत्पादन र प्रसारण गर्नु हो । स्थानीय पहिचान र संस्कृति झल्काउनुमा मुख्य ध्यान दिदै आएको छ ।
साथसाथै शिक्षा, स्वास्थ्य, पर्यटन, विकास निर्माण तथा अन्य महत्वपूणर् क्षेत्रहरुलाई समेत यसले आफ्नो क्षेत्रको रूपमा लिएको छ । कृषि क्षेत्रका साथै विकासका पूर्वाधारहरूमा विषेश बहस, छलफल र निष्कर्षमा जोड दिने यसको मुख्य ध्येय हो भने कुरीति, असुरक्षा, हत्याहिंसा चेलिबेटी बेचविखन, भ्रष्टाचारलगायतका सामाजिक विषयमाथिको प्रहारका साथै समयसापेक्ष रहस्य, व्यङ्गय, मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्नु यसको उद्देश्य पनि हो ।
यी र यस्तै कार्यक्रम उत्पादन र प्रसारणमा राजेश अर्यालको नेतृत्व र टिमले जोड दिएको थियो । त्यसैले त चौतर्फी चर्चा छ हाम्रो रेडियो राम्रो रेडियोको, खुसी लाग्छ, गर्व छ, रेडियोमा काम गर्दा ।
संसारको कुनाकुनासम्म सञ्चारमाध्यमको रूपमा रेडियो सबैभन्दा सहज, सुलभ र प्रभावकारी मानिन्छ । दुर्गम होस् या सुगम जस्तोसुकै अवस्थामा पनि सजिलै सुन्न सकिन्छ । जुनसुकै काम गर्दा, खाना खाँदा, पढ्दा, यात्रा गर्दा आदिमा पनि सहज तरिकाबाट समाचार सुन्न, मनोरञ्जन लिन रेडियो सबैको साथी बनेको पाउँछु ।
सकारात्मक संवाद गर्ने र गराउने थलोको रुपमा संसारमै चिनिएको रेडियो ।
नागरिकको जिवनशैलीसँग जोडिएको उत्सव २५ वर्ष पार गरी रजत महोत्सवका अवसरमा सम्पूर्ण रेडियोकर्मी साथी, रेडियो सञ्चालक समिति, रेडियोका पूर्व सहकर्मी साथी, रेडियो प्रतिनिधि, रेडियोलाई सुनेर माया सद्भाव र विश्वास गर्ने सम्पूर्ण शुभचिन्तकप्रति हार्दिक आभारसहित शुभकामना ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०, ०९:४८