काठमाडौँ । आईसीसी लिग टू अन्तर्गत त्रिदेशीय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४२ औँ ओभरमा १३२ रनमा अलआउट भयो । नेपालका भीम सार्कीले सबैभन्दा बढी ४४ रन बनाउनुभयो । यस्तै यस्तै गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्साफले १२ रनको योगदान गर्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पहिलो बलमै कुशल भुर्तेल आउट भएको खेलको तेस्रो ओभरमा अनिल साह, छैटौ ओभरमा आशिफ शेख र दशौँ ओभरमा रोहितकुमार पौडेललाई गुमाएको थियो ।
यसरी पहिलो पावरप्ले सकिँदा नेपाल ४ विकेट गुमाएर २१ रन बनाएको दयनीय अवस्थामा थियो । पाँचौ विकेटका लागि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्नुभयो ।
शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् । सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रुपमा रहेको लिग टू को पहिलो त्रिकोणात्मक शृंखलामा नेपालले फागुन ५ गते नेदरल्यान्ड्ससँग, फागुन ९ गते नामिबियासँग र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।
गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग टू मा आठ टोली छन्। आठ टिमले जम्मा १४४ एकदिवसीय खेल खेल्नेछन्।
आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता कायम रहनुका साथै विश्वकप छनोटमा पुग्नेछन्।
बाँकी चार टिमले विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिमसँग विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्।
लिग टू खेल्ने टिम
क्यानडा
नामिबिया
नेपाल
नेदरल्यान्ड्स
ओमान
स्कटल्यान्ड्स
यूएई
अमेरिका
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०, १२:२८