काठमाडौँ । कवि देवव्रतको कविता संग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ। काठमाडौँको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले सङ्ग्रहको विमोचन गर्नुभएको हो।
कार्यक्रममा कवि मुकारुङले देवव्रतक कवितामा लयविधान भएको बताउनुभयो । 'पछिल्लो पुस्तामा नयाँ शैली लेख्ने कविहरूमध्ये देवव्रत पनि पुगेका छन्। यो सङ्ग्रहमा मैले असाध्यै मज्जा लिएका कविता छन्।' कतिपय कविता पढ्दा ईर्ष्या पनि लागेको उहाँले बताउनुभयाे।
निबन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलि जस्तै बिलाइजाने पानीको थोपा जस्ता नभएको बरू उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो भएको बताउनुभयो । देवव्रतका कवितामा हजारौँ वर्षदेखिको पुरानो घाउ, मधेसका दलित र कर्णालीका आम मान्छेका जीवन समेटिएको उहाँले बताउनुभयो ।
लेखक ढकालले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताउनुभयो । 'उनका कविताले मृत्यु बोलेका छन् ।आत्महत्या बोलेका छन्। चरम उपभोक्तावादी समय पनि बोलेको छ। कर्णालीमा भएको अभाव बोलेको छ' उहाँले भन्नुभयो ।
इन्डिगो इन्कले प्रकाशन गरेको कविता सङ्ग्रहको मूल्य २ सय ९९ रूपैयाँ रहेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०, १४:५४