काठमाडौ । हरेक उमेर समूहमा बुझाई र आवश्यकता अनुसार सुखी र खुसी हुने सोचाई र तरिका फरक फरक होलान् । प्राय पाको उमेरमा पुगेपछि मानिस आफ्नै परिवेशमा आएको परिवर्तनलाई स्वीकार नगर्ने र पुरानै ढर्रामा निर्लिप्त हुन खोज्दा असन्तोषी भई सधैँ सुस्केरा हालेर बसेका देखिन्छन् । त्यस्तै, कम उमेरकाले पाका मान्छेका अनुभव, ज्ञान र सिपको कदर नगर्ने र बेवास्ता गरिदिँदा पनि झन् पुस्तान्तरणको खाडल बढ्न थाल्दछ । निरन्तरको त्यस्तो व्यवहारले असक्ततातिर उन्मुख पाका मान्छेमा आधुनिक कहलिएका नयाँ पुस्ताप्रति पूर्वाग्रह मौलाउँदै जान्छ । फलस्वरूप विविध उमेर समूहबिच सहिष्णु, सकारात्मक र मेलमिलापको सट्टा घृणा, हेलाँ होचो, वैमनस्य, नकारात्मक सोचाई प्रभावी भई पुस्तान्तरण लुप्तता कायम हुन जान्छ । यस्तो अवस्थाले एक परिवार मात्र होइन पूरा समाजलाई प्रभावित गर्यो भने मानव समाजको विकास कता जाला ? अनुभव र उमेरको गाम्भीर्य ताको हिसाबले पाका मान्छे नै जिम्मेवार भएकाले सकारात्मक सोचाइको बीजारोपण आफैँबाट सुरु गर्नुपर्ने देखिन्छ । छ दशकभन्दा बढीको ज्ञान, सिप र अनुभवले पाको भएको उमेरमा के कसो गर्दा हाँसी खुसी बाँकी जीवन बिताउन सकिएला, यसो तयारी गरौँ है ।
सबै मानिसका पाको उमेर अनुभव, ज्ञान र सिपले परिपक्व तथा सुनौला मानिन्छन् । त्यसैले त गाह्रो साँघुरो पर्दा ‘कुरा सुन्नु बुढाबुढीको’ भन्ने आहान चलेको होला । अपठित र पदमा नपुगेका मान्छेको पनि अनुभव यदि सिप र ज्ञानयुक्त छ भने ठुला विश्वविद्यालयमा पढेर ठुलै पद पाएकाकोभन्दा बढी दक्षता हुँदो रहेछ ।
पहिला काठमाडौँको लगन टोलमा उचाइका कारणले पानीको अभाव थियो, मानिसहरू यङ्गाल र ओम बहालतिर जान्थे । २० को दशकमा पानी निकाल्न भनी विदेशी इन्जिनियरसहितको समूहले निकै परिश्रम गरी फलामे ढुङ्ग्रोसम्म गाडे, तल पाताल कुवाको पानी आएन । स्थानीय भूगोलका जानकार एक जना पाका कौ (फलामको काम गर्ने), उनीहरूको काम र तरिकाबारे चासो राखी नियाल्दा रहेछन् । पानीको सतहमा पाइप पुग्दा पनि पानी नआएकाले विदेशी बडो चिन्तित भई काम छोड्ने बिचार गरेछन् । ती पाका कौले चाल पाई त्यहाँ गएर समस्या बुझ्न खोजेछन् । उनले त्यसपछि लामो फलामे डन्डी र ठुलो घन ल्याई ‘मैले जानेको गरूँ कि?’ भनेछन् । ‘कस्ता कस्ता कति पढेकाले नसकेको काम जाबो कौले?’ भनी केहीले ओठ लेप्र्याएछन् तर उहाँलाई काम गर्न दिएछन् । कोले गाडिएको पाइपमा धेरै बेर डन्डी भित्रबाहिर गर्दै घनले हिर्काउँदै परिश्रम गरेछन्, ससाना गेग्र्यानसहित हिलो पानी आएछ । अन्तिम घनको ठोकाई पछि ठुलो ढुङ्गो फुटेको कप्टेरोसहित पानीको फोहरा छुटेछ । पाका मान्छेको सिप र ज्ञानको स्तर जाँच्न यो राम्रो उदाहरण होइन र ?
संयुक्त परिवार र सामूहिक संस्कृतिको विचलनले पूर्वीयभन्दा पश्चिमी संसारलाई आक्रान्त पारेको छ । आजकाल पश्चिमा पूर्वीय समाज कसरी टिकेको छ भन्नेतिर बढी लहसिएका छन् । लिन्डसे फ्यान्सीका भनाइमा ‘पाको उमेर जीवनको सुनौला अवस्था हो र यसलाई पाका मान्छे आफैँले खुसिका साथ बिताउनु पर्छ’ भन्छन् । सबै उमेर समूहले सुख र खुसी खोज्छन् तर उमारिएका पाका मान्छेले मात्र कसरी सुखी खुसी रहने भन्ने आफ्ना अनुभवबाट अरूलाई सिकाउने अवसर पाउन सक्छन् । अरूले होइन, आफैँ अघि बढेर कम्तीमा सात वटा तरिका व्यवहारमा लगाई ‘बुढेसकाल होइन मानिलो काल’ बनाउन पाका मान्छेलाई उनी सल्लाह दिन्छन् ।
आफ्नो परिवार र साथीभाइमा हिरिक्क
उमेरिँदा खुसि रहने मूल साँचो नै सामाजिक सम्बन्धहरू हुन् । साथीभाइ र परिवारजन नै उमारिएका पाका मान्छेका अप्ठ्यारो फुकाइ दिने आफन्त हुन् । तपाईँको विशेष दिन वा चाडपर्वमा वरिपरि झुम्मिने तिनै हुन्छन्, त्यसैले त्यस्ता अवसर पारेर उनीहरूलाई फोन गर्नोस् र ‘भेट्न सकिन्छ कि ? सबै घरपरिवारकाले सम्झिरहनेछन्, कहिले आउने ?’ भनी निम्ता गर्नोस् । ‘उनिहरू बिना त खल्लो हुन्छ’ भनी यसो चिप्लो पनि घस्नोस् र ‘मिलेसम्म आउन’ भन्नोस् । भेट्न नआउने जस्तो लागे ‘आफूलाई एकदम भेट्न मन लागेकाले कुन दिन र बेला आउँदा भेट्न सक्छु, कहिले कुराकानी गर्न मिल्छ ? म एक्लै भए पनि आउँछु, मिल्ला नि’ भनी सोध्नोस् । त्यसरी अरूको महत्त्व दिई कुरा गर्दा ‘बडो खातिर गर्ने मान्छे’ का रूपमा तपाईँलाई मन पराउन अरू बाध्य हुन्छन् । अझ परिवारमा एक्लै भएका एकल पाका नागरिकले त यस्तो सम्पर्क बढाउन बढी नै कोसिस गर्नुपर्छ । त्यस्तो सम्बन्ध विकसित गरेमा परिवार भए अरूसँग मिलजुल बढ्छ भने पाका एकललाई त केही क्षण भए पनि गफ गर्ने र रमाइलो गर्ने साथी मिल्छ । एकाङ्गी जीवनमा नयाँ पुराना कुरा दोहोलो काट्ने अवसरका साथै समय रमाइलोमा काट्न पाउनु र अरू उमेर समूहका लागि पनि मिलजुल बढाउने बाटो सिकाउनु पाका मान्छे नै अघि सरेर मात्र हुने काम हो ।
हँसिलो रहनोस्
सुन्दा त सजिलो लाग्छ तर पहरामा फुलेको फुलझैँ सधैँ र आतपमा पनि हँसिलो रहनु एकदमै गाह्रो काम हो । फेरी पाको मान्छे उमारिँदा किशोर किशोरीझैँ ङिच्च ङिच्च गरिरहनु पनि अस्वाभाविक हुन्छ । त्यसो भए पनि बुझ्न के जरुरी छ भने हँसिलो अनुहार लाउँदा खुसि सुखि अवस्थामा शरीरभित्र उत्पन्न हुने विभिन्न जैविक रस र पदार्थ निस्कने प्रक्रियालाई पुनरुत्पादन र सक्रिय गरिदिन्छन् । भित्री फाइदाले मस्तिष्कलाई पनि प्रभावित पार्छ भने बाहिरी अनुहार, छाला र हँसाइअनुसार मांसपेशीको खुम्चिने तन्किने व्यायाम भई स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्छ । पाका मान्छेले आफू हँसिलो बन्ने र आफूमुनिका प्रियजनलाई ‘अरू बेला नभ्याए बिहान उठ्नासाथ आज उठियो, मानिला मान्छेको निर्देशनमा अब दिनभरि राम्रो काम गर्छु । भनी ऐना अघि मुसुक्क हाँस्दै भनेर मात्र ओछ्यान छोड्नु’ भनी सिकाउनु पर्छ । यसरी पूरा परिवार नै हँसमुख दिनभरि रहने अवस्था सिर्जना गर्न पाका मान्छे नै अघि सरेमा पाका मान्छेको सामाजिक कर्तव्य पुरा हुन्छ ।
नयाँ चाहना राख्नुहोस्
आफ्नो साधन स्रोतले भ्याएसम्म हरेक दिन नयाँ चिजबिज, ठाउँ हेर्ने र साथी बनाउने चाहाना राख्नुहोस् । अनुभवको खानी पाका मान्छेले मस्तिष्क र शरीरको पुनर्ताजगीकालागि योग्यताअनुसार प्रवचन दिने र छलफलमा भाग लिनु पर्छ । हो, विषय विज्ञ छु भन्दैमा लिसोजस्तो पनि नहुनु होस् बरु तपाईँको विज्ञताको प्रशिक्षार्थीलाई अभाव र पछि आभास पनि हुने गरी तयारी गर्नुहोस् । तपाईँको तयारीपूर्ण प्रवचन र छलफल सुन्नेलाई सन्तुष्टि दिने र सिक्ने अवसर होस् । त्यसोभरमा तपाईँको चाह परिवार र समाजलाई अरू बढ्छ र नयाँ नयाँ माग आउन थाल्छ अनि तपाईँको व्यस्तता अरुका लागि शिक्षा बन्छ । नयाँ थाहा पाएका हरेक जानकारी पनि त्यसै गरी सम्प्रेषण गर्न अघि बढ्नु होस्, तपाईँलाई कति मज्जा लाग्नेछ ।
स्वस्थ्य रहनुहोस्
ससाना मौसमी स्वास्थ्य समस्याले पनि तपाईँको खुसी खोस्न सक्छ । बेलैमा सतर्क रहनुहोस् र बच्ने जोहो गरिहाल्नोस् । दैनिक क्रियाकलापमा लतरपतर र होस्ल्याङे चाल गर्नु आफ्नै कुभलो गर्नु हो । नगर्नोस्, बरु दैनिक रुपले सिक्दै चुस्त दुरुस्त रहने कोसिस गर्नुहोस् । झिना मसिना कुराले ठुलो रूप लिन सक्छ र समस्याको पहाड ओइरिन सक्छ । दुखको सुरुआत भई खुसी हराउने सम्भावना हुन्छ । भान्छाको काम, खानपान, मर्मत सम्भार, करेसाबारी र कौसी बारीका घरायसी कामकाज गर्दा होसियारीपूर्वक गर्नुहोस् । क्षणिक आवेगमा गर्ने, सानातिना दुर्घटना भनेर बेवास्ता गर्ने र सानो कुरामा पनि बढी आत्तिने बानी छोड्नुहोस् । काम गर्दा हुन सक्ने काट्ने, घोच्ने, पोल्ने, चोट लाग्ने र दुख्ने कुरामा गम्भीर भई उपचारको तयारी गर्नुहोस् । ‘बेलामा गरिएको एक टाँकाले नौ टाँका बचाउँछ’ भन्ने उखान लामो अनुभवको प्रस्तुति हो, उखानै मात्र होइन ! उमारिँदा सामान्यतया नियमित शारीरिक जाँच पड्ताल गर्न चिकित्सकको सल्लाह लिने गर्नुपर्दछ । रोग लागेको छ भने त त्यसै रोगसँग सम्बन्धित भएर बेलाबेला जँचाउनुनै पर्छ । त्यसै बेला शङ्का लागेका, अशक्त हुन खोजेका र असामान्य हुन खोजेका भागबारे पनि थप जाँच गराउन सकिन्छ । केही बिराम नभए पनि स्वस्थ रहने उपायबारे चिकित्सकसँग सल्लाह लिन सकिन्छ । सुस्त, अल्छी भएर सरिर बिगार्नु भन्दा सामान्य व्यायाम गर्ने बानी नै नियमित गरिरहनु पनि शरीर स्वस्थे बनाउने उपाय हुन् ।
ख्यालठट्टाको स्थिति बनाउनुहोस्
पाका मान्छे ख्यालठट्टा गर्नै जान्दैनन् वा जानेका पनि बिर्सिसके भन्ने भनाई काल्पनिक हो । अरूले भनेका रमाइला, रसिला र हाँस उठ्दो कुरामा कोही पेट मिचिमिची हाँस्न र कोही अर्थपूर्ण ढङ्गले मस्कन जान्दछन् । त्यसैले पाका मान्छेले खित्का छोड्ने गरी हँसाउने कुरा अरूले पनि गर्नुपर्छ र पाका मान्छेले पनि अरूलाई मन पर्ने, हाँसो लाग्ने कुरा बेलाबेला भनी रमाइलो गर्नुपर्छ । एक क्षणको हाँसोले कैयौँ चिन्ता गराउने बिचार र पिरले पाकेको अशक्त भनिएको मनबाट उडाएर शारीरिक मानसिक व्यायाम नै गराएको हुन्छ । मानसिक अस्वस्थता र चिन्ता लखेट्न हाँस्य प्रधान सिनेमा, साहित्य र कुराकानी दिनमा एक पटक भए पनि हेर्ने, पढ्ने र सुन्ने सुनाउनु गर्नु फाईदाजनक हुन्छ । यस्ता क्रियाकलापले पाका महिला र पुरुष दुबैलाई हित गर्छ । पाका मान्छेले सक्रियता लिई बेलाबखत नाचगान, उत्सव र घरायसी कार्यक्रम पनि राखेर पुरै परिवार सम्मिलित रमाइलो वातावरण बनाउने काम गर्नुपर्दछ ।
हरेक दिन बाहिर निस्कनुहोस्
घरमा एकै ठाउँ थुप्रिएर सधैँ बसिरहने गर्नुहुन्न, हिँडडुल नै नगर्नु, सकेको शारीरिक श्रम नगर्नु सुख पाउने तरिका होइन । यस्तो स्वभावले रोग व्याध बढाउने मात्र होइन पारिवारिक वैमनस्य र किचलो बढाउन सक्छ भने नयाँ कुरा कम भई मानसिक चिन्ता बढाउँछ । घमाइलो वातावरण मानसिकता उन्नत बनाउने अचुक औषधि मानिन्छ । त्यसैले त कुहिरो तुवाँलो लागेका जाडा महिना, झ्याउँ झ्याउँ पानी पर्ने बर्सातका दिन राम्रो मानिन्न । घाम सहन सक्ने उज्यालो दिन र टहटह जुनेली रात सबैको मनमोहक र प्रशासित भएको छ । यस्तै समयमा लट्ठिएर कति सिर्जनात्मक मगजका साहित्यिक रचनाको रास यस्तै बेला फुरेको पाइन्छ ।
परिवारका सदस्यलगायत पाका मान्छे आफैँ पनि घमाइलोमा दिनको एक पटक घुम्न बाहिर निस्कनै पर्छ । हिँड्न सके ससाना प्रियजनलाई डोहोर्याएर बाटोघाटोमा निस्कनु, इष्टमित्रकोमा जानु र बजारतिर घुम्नुको मज्जै बेग्लै छ । घर वरपर खुला चउर र हरियाली छ भने एक छिन नाङ्गै खुट्टा हिँड्नु पनि आनन्द पाउने अर्को पाटो हुन्छ । त्यस्तो मिलेन भने घरमा घाम आउने ठाउँ, कौसी, बार्दली, बुर्जा वा जान मिल्ने छत भए त्यतै घाम ताप्दै रमाइला कल्पना गर्न सकिन्छ । दिउँसोको खाजा खाने भान्छा कोठा घरका सुरक्षित खुला ठाउँ बनाउन सकिन्छ । कहिलेकाहीँ आफैँ नसके जाँगर भएका प्रियजनलाई तेल घसिदिन भन्न सकिन्छ । पाका उमेरमा भिटामिन डी को कमी र सुख्खा छाला रोगको अर्को स्रोत हो ।
पाका मान्छे घर व्यवहारमा सजिला काम गरेर मद्दत गर्न सक्छन् । सधैँ एकै ठाउँ बसिरहेर कुँँजीनुभन्दा बेलाबेला बसेको सुतेको ठाउँबाट उठेर दस बिस पाइला हिँडेर हात गोडा तन्काउन सकिन्छ । सकेसम्म सहिष्णु भई घरमै बस्नेले काम गर्न सक्छन् । धेरै अशक्त भई हेरालुको भर छ भने उसकै सहयोगमा हँसमुख भई घाम तापेर दिन अघि बढाउन सकिन्छ । सूर्यको प्रकाश मनोवैज्ञानिक र भावनात्मक स्वास्थ्यको जगेर्ना गर्ने अचम्मको औषधि हो । अझ जाडो महिनामा घाम ताप्न त बिर्सनु हुन्न, किरणको सहयोगमा छालाले सित्तै उत्पादन गरी पाइने भिटामिन डी लिएर हाड, छाला र बिचारलाई स्वस्थ बनाउन अनुभवी पाका मान्छेले पक्कै चुक्दैनन् ।
समुदायमा सेवा गर्नोस्
विभिन्न सेवा व्यवसायमा निश्चित उमेरसम्म सक्रिय भइसके पछि एउटा उमेरमा निवृत्त हुने नियम नै हुन्छ । उमेरमा नियमित कामबाहेक अरू काम गर्ने इच्छा लागेको हुन्छ तर कामप्रतिको जिम्मेवारीले त्यसरी उठेका तृष्णा पुरा गर्न पाइएको हुँदैन । सेवा निवृत्त भएपछि त्यस्ता सबै इच्छा आकाङ्क्षा पूरा गर्न एउटा सूचि बनाऔँ, प्राथमिकताका आधारमा पूरा गर्दै जाने यो सुवर्ण अवसर हो । आफ्नो स्वास्थ्य अनुकूल छ भने यतिखेर फुर्सद भएकाले समयको सीमा नरहँदा सामुदायिक काममा बढिभन्दा बढी समय दिन सकिन्छ । यसले तपाईँको योग्यता, परिश्रम र बिचारको प्रशंसा मात्र बढ्दैन, पाको उमेरमा ‘अझै काम लाग्ने मान्छे भएको’ सावितिले दिने आनन्द अतुलनीय हुन्छ । त्यसो गर्दा तपाइका तन्तुहरू रोमाञ्चित भई मनोवैज्ञानिक लाभ त छँदै छ, शारीरिक व्यायामले तन्दुरुस्तीतिर र तपाइका परिश्रमले सामाजिक रूपले उपल्लो श्रेणीमा पुगेको पत्तै हुँदैन ! सामान्य भरथेग मात्र होइन वयस्क हुँदा आफूले आर्जन गरेका ज्ञान र सिपको भण्डार अरूका लागि खोल्ने यो सजिलो उपाय र उचित ठाउँ हो । तपाईँको कामले पाउने प्रशंसा थामिसक्नु हुँदैन, अनि फुर्सद कहाँ हुन्छ र, आफ्नो एकाङ्गीपनको चिन्ता गरी घरको एकातिर ‘डल्लिएर विरहका गीत गाएर बस्नलाई?’ समुदायमा परेका समस्यामा आफ्नो ज्ञान र अनुभवले भ्याउँछ भने सहयोग गर्न तत्पर हुन सकिन्छ । अरूको खुसीमा कति धेरै आनन्द आउँछ ? गरेर त हेर्नोस् तपाईँलाई नसा नै लाग्नेछ । यसमाथि धेरै चलखेल गर्न नसक्ने अवस्था भए नयाँ नयाँ सोख उमार्नोस् जस्तो: हुलाक टिकट जम्मा गर्ने, पत्रपत्रिकामा सम्पादकलाई चिठ्ठी लेख्ने, सार्वजनिक हितमा पत्रपत्रिका अनलाइनलाई लेख पठाउने, चिनजानका र इष्टमित्रलाई चिठ्ठी पठाउने, संस्मरण, आत्मकथा लेख्न थाल्ने, आदि । आफूले गर्न नसके आफ्ना मान्ने साथी वा प्रियजनलाई उनीहरूको फुर्सद हेरी लेखिदिन अनुरोध गर्न सकिन्छ ।
अन्त्यमा,
उपरोक्त किसिमले आफू मात्र होइन परिवारजन र समाजमा पनि आफूबाट खुसी फैलाउने अवसर पाइने हुन्छ । त्यसैले निवृत्त उमेर भनी नीच नमारौँ बरु पुनर्ताजगी हुने अवसर र आफ्ना चाहना पूरा गर्ने अन्तिम सुनौलो मौकाको रुपमा पाको उमेरलाई लिऔँ । यस्तो प्रक्रियामा पाका मान्छे अघि बढे बाँकी जीवन बिना कुनै झन्झट र पिरलो शान्तिपूर्वक बित्छ र सबैको भनाइमा ‘आँखामा हाले पनि नबिझाउने’ बन्न कसले रोक्ला र ?
परिवारमा आफैँ अडबाङ्गे भएर निहुँ खोजिरहने अरूले सब थोक गरिदिउन् भनी गनगन गर्ने बानी पाका मान्छेले पनि त्याग्नु पर्छ । पाको उमेर रुपैयाँ पैसा र सम्पत्तिले मात्र पनि सुखमय हुँदैन, अहिले त बढी चाहिने माया दया हो । यस्तो सकारात्मक अवस्था सिर्जना गर्न पहिला पाका मान्छे नै अग्रसर हुनुपर्छ । ‘आफू भलो त जगत भलो, आफू खुस त जग खुस’ त्यसै भनिएको होइन । शान्त, सुखमय र हाँसिखुसी वातावरण दीर्घायुको मूल कडी हो, यसलाई आफ्नै हितमा र आफ्नो प्रियजनको हितमा आफैँले घर, साथीभाइ र समाजमा बीजारोपण गरौँ । असल बिउको बीजारोपणले झाँगिने, छहारी दिने र फलफूल लाग्ने अवश्य गर्छ । बाउँटिएर घर छोड्ने, जोगी हुने, नभए मेख मार्न भनी आधुनिक पाटी र वृद्धाश्रमतिर आँखा नलगाऔँ । पैसा र सामाजिक धाकमा चलेका वृद्धाश्रम पनि सुखमय छैनन् भनी बुझ्नुपर्छ, हामी पाका मानिसले पनि ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९, १८:१७