रुकुम । काक्री गाउँ रुकुम पूर्वको भूमे गाउँपलिकामा पर्ने सुन्दर बस्तीहरू मध्ये एक हो । मध्य पहाडी लोकमार्ग र सहिद मार्गको संगमस्थलमा यो बस्ती छ ।
काँक्रीको त्रिवेणी यही बिन्दुबाट रोल्पादेखि हुँदै आएको सहिद मार्ग रुकुम पूर्वको तकसेरा, कोल, राङग्सी, हकम, मैकोट जान छुट्टिन्छ भने रुकुम पश्चिमबाट हुँदै आएको पूर्व-पश्चिम मध्य पहाडी लोक मार्ग यो स्थान हुँदै बाग्लुङको बुर्तिबाङ र म्याग्दी हुँदै कास्की पोखरा निस्किन्छ ।
करिब ९० प्रतिशत मगर जाति र १० प्रतिशत दलित तथा अन्य जातिका व्यक्तिहरू यो समुदायमा बसोबास गर्दछन् । पुर्खादेखि मान्दै आएका खाम मगर समुदायको विभिन्न संस्कृति तथा परम्परामा पनि यो समुदाय उत्तिकै धनि छ ।
काँक्री लुम्बिनी प्रदेशको पूर्वी रुकुम भूमे गाउँपालिकामा पर्छ । पहाडी भूगोलमा रहेको काँक्रीको आफ्नै ऐतिहासिक भौगोलिक, धार्मिक राजनीतिक र सामाजिक महत्व तथा विशेषता छ ।
साविकको काँक्री गाविस हाल गाउँपालिकाको एउटा गाउँ हो ।
पूर्वमा वाग्लुङ जिल्ला पश्चिममा रुकुमको मोरावाङ, उत्तरमा कोल र तकसेरा अनि दक्षिणमा रोल्पा जिल्ला पर्छ । यस क्षेत्रबाट अविरल रूपमा वगिरहने लुकुम गाडको रूपमा चिनिने लुकुम खोलाको दक्षिण भूभागको सिमाङ्कन गर्दै जति शोभा बढाएको छ ।
त्यति नै धौलागिरी अञ्चलमा पर्ने निसिभुजी पाटन र रोल्पा जिल्ला उवालेखको सम्मुखमा यो गाउँ छ ।
यहाँ मकै, गहुँ, जौँ, आलु, फापर र कोदोको प्रमुख खेती गरिन्छ । यहाँ उत्पादन हुने नगदेबालीमा खोर्सानी, तोरी, ओखर आदि हुन् ।
यहाँ पाइने फलफूलहरूमा कागती, आरु, आरुवखडा, स्याउ र ओखर हुन् । यस गाउँपालिकामा पिडालु, सिमी, बोडी, काँक्रो, फर्सी, मुला र लसुन जस्ता ताजा तरकारी उत्पादन हुन्छ ।
साना सिँचाइ कुलोबाट नै पाखोबारीमा सिँचाइ गरिन्छ । काँक्रीमा केही पर्यटकीय महत्वका स्थानहरू पनि छन् । ती मध्य रोगा धुरीदेखि निसी लेकसम्मको लेकाली भाग चौरीखर्क अनि जरखान झरना प्रमुख हुन् ।
रोगा धुरीदेखि निसी लेकसम्मको लेकाली भाग अत्यन्तै रमणीय रहेकोले पर्यटकहरूको आकर्षक थलो हुने देखिन्छ । यहाँबाट हिमालको रमणीय दृश्य हेरेर आनन्द लिन सकिन्छ । चौँरीखर्क यहाँ रहेको अर्को पर्यटकीय महत्वको स्थान हो ।
यहाँ खासगरी वर्षायाममा पशु चराउन बुकी पाटन भएको र यस स्थानमा बुकी लगायतका विभिन्न जातका फलफूल फूल्ने भएकाले अति रमणीय हुनुका साथै यो भूभाग अग्लो स्थानमा रहेकाले चारैतिर देख्न सकिन्छ ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८, १७:०६