काठमाडौं ।
नेपाली उखान छ, १२ वर्षमा खोला पनि फर्कन्छ । बगेको खोला फर्कियो कि फर्किएन थाहा छैन । सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले ११ बर्षको यात्रा पूरा गरि १२ बर्षमा पाइला टेक्दै गर्दा नागरिकका खोसिएका खुशी र हाँसो धेरथोर फर्किएका छन् ।
कोभिड १९ महाव्याधीविरूद्ध संसार लडिरहेका बेला सिंगो नेपाली समुदाय पनि यसबाट जोगिन भागदौड गरिरहेको छ । सिंगो देश स्वास्थ्य संकटबाट जीवन बचाउन लागिरहेका बेला सीआईएन अहिले त्यसकै बलियो हिस्सा बनेको छ ।
आफ्नो उत्सवपूर्ण यात्राका औपचारीकतालाई स्थगन गरेर दुःख र अनिश्चयका पहाडलाई छिचोलेर आशाको सञ्चार छर्न आजको दिनमा थप सक्रिय बनेको छ ।
कोरोनाको कहरमा कयौं नागरिक आँसु खसाल्दै सडकमा पोखिए, कयांैका यात्रा हिड्दा हिड्दै रोकिए । कोही भोको पेटमा पटुका कस्दै खानाका लागि भौतारिरहेका बेला तीनै यात्रीको सहयात्री बन्दै मलिन अनुहारमा खुसी पर्काउन र नागरिक प्रतिको सञ्चार दायित्व पूरा गर्न हामी इमान्दार प्रयास गरिरहेका छौ । गरिरहने छौं ।
हरेक जीवनमा सङ्कट आउँछन् । अहिले कोरोनाको संकट छ । सीआईएनको जीवनमा पनि कयौं पटक आउन खोजेका संकटलाई टार्दै हिम्मतका साथ नागरिकको जीवनको पाटो बनेर सामाजिक रुपान्त्रणको साझा बाटो कोर्न लागि परेको छ ।
नागरिकका दैनिकीसँग नजिकबाट साक्षात्कार गर्दै सीआईएन सुरु भएको बेला नेपाली पत्रकारिताको जीवन फरक बाटोमा थियो । नेताका भाषण, शहरका होटेलमा हुने कार्यक्रम, सिंहदरबारका निर्णय खबरका ठूला विषय बनेर आउथ्यो । त्यसको ठीक विपरित सीआईएनले गाउँमा किसानका दुःख, मजदुरका दैनिकी, तरकारी उत्पादनका विषय ठूलो खबरको विषय बनायो ।
सबै सामुदायिक रेडियो र समुदायलाई जोड्ने पुलका रुपमा स्थापना भएको सामुदायिक सूचना नेटवर्क (सीआईएन) गाउँ र सिंहदरबार, समुदाय र सरकारलाई जोड्ने एउटा शसक्त एकमात्र माध्यमका रुपमा उभिएको छ ।
हरेक जीवनमा सङ्कट आउँछन् । अहिले कोरोनाको संकट छ । सीआईएनको जीवनमा पनि कयौं पटक आउन खोजेका संकटलाई टार्दै हिम्मतका साथ नागरिकको जीवनको पाटो बनेर सामाजिक रुपान्त्रणको साझा बाटो कोर्न लागि परेको छ ।
रेडियोका नेवटर्कहरूको बिचमा रहेको एउटा समाचारको नेवटर्क जस्तो मात्रै लाग्ने सीआईएन, त्यति मात्रै होइन ।
अहिलेसम्म सीआईएनले सञ्चालन र प्रसारणमा ल्याएका कार्यक्रमलाई हेरेर कतिले यसलाई एक भिन्नै उत्पादन गृहका रूपमा पनि बुझेका छन् । यो समाचार र कार्यक्रमको त्यस्तो उत्पादन गृह पनि होइन ।
यसले संघका सदस्य रेडियो स्टेसनहरूको सूचनामा पहुँच होस् भनेर सहजीकरणका लागि मात्र केही सामग्री उत्पादन गर्नुपरेको हो । सीआईएन नागरिकको आवश्यकताका आधारमा कार्यक्रम बनाउने सामुदायिक रेडियो र नागरिकहरूको शक्ति हो ।
नयाँ सोच र फरक शैलीका विषय पस्किदै बिहान ६ बजे र बेलुका ७ :३० बजे साझाखबर मार्फत सिंगो नेपाल जोडिरहेको सीआईएन, साच्चिकै समुदायको साझा हुन सकेकोमा गर्व गर्छ । यही उचाईलाई कायम राख्दै समुदायमा आउने सबै संकटको सारथी बन्न सीआईएन हरदम तयारी अवस्थामा छ ।
महामारीको अत्यासलाग्दो वातावरणको सामना गरिरहेका बेला नयाँ, सुरक्षित र भरपार्दा बाटाहरू पहिल्याउन सीआईएन सबै समुदायको अगुवा बन्न तयार छ । हरदम तयार भइरहनेछ ।
मानिसमा हराएको मुस्कानको कारण खोज्दै, खुसी फर्काउन प्रयास गरिरहेको सीआईएनको ११ बर्षे यात्रामा साथ दिने सबै पाइलाहरूलाई नमन गर्न चाहान्छौं ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७, ०८:५७