डडेलधुरा । सरकारले सबैका लागि शिक्षाको व्यवस्था गर्ने रणनीति अघि सारेको छ । तर डडेलधुराको खनमडाका बालबालिकाले पढ्नलेख्न पाएका छैनन् । रेडियो अमरगढी डडेलधुराबाट राधा फुलाराको रिपोर्ट ।
डडेल्धुराको अमरगढी नगरपालिका ८ खनमडामा जम्मा ३५ दलित घरपरिवार बस्छन् । यो गाउँमा हालसम्म १ जना मात्र विद्यार्थी कक्षा ९ सम्म पुगेका छन् ।
कक्षा ९ सम्मको आफ्नो बढाइ बारे बताउँदै स्थानीय मानबहादुर पार्कीले आर्थिक अवस्थाले भ्याएसम्म धेरै पढ्ने इच्छा भएको बताउनुभयो । आर्थिक अभावकै कारण यो बस्तीका १६ जनाभन्दा धेरै विद्यालय जाने उमेर समूहका बालबालिका घरमै बस्ने गरेका छन् ।
अशिक्षा र गरिबीको कारण विद्यालय जान सुरु गरे पनि बीचमै छोड्नुपर्ने बाध्यता आइ लाग्ने अभिभावकको भनाइ छ ।
कतिपय अभिभावकले पढाइ सुरु गराए पनि बीचैमा छोडाउँछन् भने कतिपयले भने २/४ कक्षा पढेर केही नहुने भन्दै आफ्ना बालबालिकालाई पढ्न नै नपठाउने गरेको १४ वर्षका सन्तोष पार्कीले दुखेसो गर्नुभयो ।
सरकारले सन् २०३० सम्ममा कार्यान्वयन गर्ने सहमति जनाएको दिगो विकासका लक्ष्यमा सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने भनिएको छ ।
सबै किशोर तथा किशोरीहरूले निःशुल्क, समतामूलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा प्राप्त गर्ने सुनिश्चित गर्ने भनिएको छ ।
विद्यालयमा जान नसक्ने खनमडाका बालबालिकाको बारेमा स्थानीय सरकार चिन्ति रहेको बताउँदै अमरगढी नगरपालिकाका उमपेयर संगीता भण्डारीले भन्नुभयो,‘हामीले खनमडाका बालबालिकालाई निरन्तर पढाइमा ल्याउने कोसिस गरेका छौँ तर अभिभावकबाट उचित सहयोग पाइएको छैन ।’
दलित र गरिब समुदायका बालबालिका पढनका लागि विद्यालय आए पनि अधिकांश बीचैमा छोड्ने गरेको भागेश्वर माविका प्रधानाध्यापक जयप्रकाश जोशीले बताउनुभयो ।
सरकारले विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरे पनि खनमडाका बालबालिकालाई अहिलेसम्म छोएको छैन ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६, १४:३७