काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा जागृति बाल तथा युवा सरोकार नेपाल (जेसीवाइसीएन) र जलवायु तथा वातावरणको क्षेत्रमा क्रियाशील युवा सञ्जाल(वाइसीजीएन) को आयोजनामा आज काठमाडौँमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
माइतीघर मण्डलामा आयोजित ऐक्यबद्धता कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलगायत विभिन्न सङ्घ–संस्थाहरूको पनि सहभागिता रहेको थियो ।
जलवायु न्याय र वातावरण संरक्षणप्रति सरोकारवाला निकायका प्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रकृतिबाट प्रेरणा लिएर जलवायु कार्य र दिगो भविष्य निर्माणका लागि सामूहिक पहल आवश्यक रहेकोमा पनि जोड दिइएको वाइसीजीएनका अध्यक्ष रीता थापाले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रममा वाइसीजीएन र जेसीवाईसीएनका सदस्यहरू, विभिन्न युवा समूह, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षणको सन्देशसहितका प्लेकार्ड प्रदर्शन, जनचेतनामूलक गतिविधि तथा संवादमार्फत जलवायु परिवर्तनको असर न्यूनिकरण, जैविक विविधता संरक्षण र वातावरणीय दिगोपनाका विषय उठाएका छन् ।

ऐक्यबद्धता अभियानपछि सहभागीहरू कोटेश्वरस्थित एसओएस युथ फ्यासिलिटीमा पुगेर विभिन्न जातका विरुवा रोपेका थिए । कार्यक्रममार्फत स्थानीयस्तरमा हरियाली प्रवर्द्धन गर्नुका साथै वातावरण संरक्षणप्रति समुदायलाई प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३