गोरखा । नेपालको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ ।
विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देस्यसहित २२ औं सवा लाख रोट महोत्सव सुरु भएको हो ।
रोटलाई गुरु गोरखानाथको मनपर्ने खाद्यपरिकारको रुपमा लिइन्छ ।
११ दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमको अवसरमा सदरमुकामको हरमटारी चोकदेखि गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश तथा रथयात्रा निकालिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोर कुमार अकेलाले जानकारी दिनुभयो ।
स्थानीय कला, संस्कृति र पहिचान झल्कने खालका झाँकीसहितको र्यालीसमेत निकालिएको उहाँको भनाई छ ।
‘‘गोरखानाथको मन्दिरमा रोट दैनिकरुपमा चढाउने प्रचलन रहे पनि २२ वर्षदेखि यसलाई महोत्सवको रुपमा अगाडि बढाउन थालिएको छ’ उहाँले भन्नुभयो, ‘‘महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने गरिन्छ ।’’
गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरखानाथ गुफामा प्रकट भएको विश्वास रहेकाले गोरखाको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ ।
तत्कालीन नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई प्रसादको रुपमा एउटा रोट र एकमाना पानी खुवाएपछि भोक नलागेको र लामो समय लडाईँ लड्न सकेको भन्ने विश्वास पनि रहेको छ ।
त्यसैले रोटलाई शक्तिबद्र्धन खाद्य परिकारको रुपमा समेत लिइन्छ । महोत्सवमा आउने धार्मिक पर्यटकका लागि आयोजकले नै खाने, बस्ने व्यवस्था मिलाएको छ ।
यसपटक करिब ५० हजार भन्दा बढी धार्मिक पर्यटक महोत्सवमा सहभागी हुने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने संयोजक अकेलाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२