काठमाडौँ । गुणस्तरीय शिक्षाका लागि नेपालमा पुस ५ गतेदेखि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।
रातो बङ्गला फाउन्डेसन र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा यही पुस ५, ६ र ७ गते रातो बङ्गला स्कुल, पाटनमा यो सम्मेलन हुने भएको हो ।
रातो बङ्गला फाउन्डेसनका अध्यक्ष शान्ता दीक्षितले सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक तथा भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवद्र्धन, पूर्व प्राथमिक शिक्षा, पढाइ र सिकाइलगायतका बारेमा छलफल हुने जानकारी दिनुभयो ।
नेपालमा सन् २०१३ मा ‘सबैका लागि शिक्षा’ भन्ने नारासहित पहिलोपटक अन्तराष्ट्रिय सम्मेल भएको थियो ।

समयको माग र आवश्यकताको आधारमा विद्यालयले शिक्षालाई प्रविधि र जिवनोपयोगी बनाउने उद्देश्यले तेस्रो सम्मेलन गर्न लागिएको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
शिक्षक भन्दा बिद्यार्थी अगाडी छन् भन्ने मान्यताका साथ अबको पाठक्रममा परिर्वतन ल्याउनुपर्ने उहाँको भनाइ छ ।
सम्मेलनमा ५ सयभन्दा धेरै शिक्षाकर्मीहरूको उपस्थिती रहने छ । जसमा ७ जना विदेशबाट विज्ञ आउने आयोजकले जनाएको छ ।
३ दिनसम्म हुने सम्मेलनमा ४० वटा कार्यशाला, १० वटा शत्र, १२ वटा कार्य प्रस्तुती, ४ वटा विषेश प्रस्तुती र ४ वटा अनुभव प्रस्तुत गरिने छ ।
शिक्षासँगै रोजगारीको अवसर नहुने र गुणस्तरीय शिक्षाको अभावमा विदेशीने युवाको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । यसलाई कम गर्नका लागि पनि सम्मेलनले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१, ०७:५५