काठमाडौँ । लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (जेडसी) सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम ललितपुरमा सम्पन्न भएको छ ।
आज एक समारोहका बीच तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको हो ।
मनोबोधा मनोसामाजिक परामर्श तथा वेलनेस केन्द्रको आयोजनामा भएको प्रशिक्षक प्रशिक्षण तालिममा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको सिद्धान्त, सरकारले कानुनी र नीतिगत रूपमा गरेका व्यवस्था र विश्वव्यापी मान्यताका बारेमा अभ्यासमार्फत जानकारी दिइएको केन्द्रका अध्यक्ष अन्जु शाहले जानकारी दिनुभयो ।
तालिममा सहभागीहरूलाई लिङ्गका आधारमा गरिने विभेद, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका लागि तीनै तहका सरकारले बनाएका नीति कार्यान्वयनको अवस्था, जेडसी परीक्षण, परीक्षणका प्रक्रिया, प्रस्तावना, रिपोर्ट तथा प्रतिवेदन लेखनको विधि, प्रशिक्षण सहजिकरणका सीप, सञ्चारका सीपका बारेमा लैङ्गिक विज्ञ डा सुनिता शर्मा र बेबी शाहले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रममा प्रमुख प्रशिक्षक डा शर्माले तालिममा सिकेका सीपलाई व्यावहारिक रूपमा लागु गर्दै लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको सिद्धान्त कार्यान्वयनमा प्रशिक्षार्थीहरूले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
"तालिममा लिएको जानकारीलाई निरन्तरको अभ्यासबाट अझ खारिँदै जान्छ ।" प्रशिक्षक शर्माले भन्नुभयो ।
प्रशिक्षक शाहले तीनै तहका सरकारले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको सिद्धान्तलाई स्वीकार गरेको भए पनि पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै तालिमबाट प्रशिक्षणका लागि तयार भएको जनशक्तिले भविष्यमा तीनै तहका सरकारलाई सचेत र उनीहरूको कामलाई मूल्याङ्कन गरेर आवश्यक सुझाव दिने विश्वास व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षार्थीहरूले अनुभव सुनाउँदै ५ दिनमा सिकेका सीप र ज्ञानले आत्मविश्वास बढेको धारणा राखे ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३