काठमाडाैँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउ परेकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछाने पक्राउ परेको जानकारी गराएकाे हाे। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शनिवार विज्ञप्ति निकालेर लामिछानेलाई फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी शुक्रबार नै सभामुखलाई दिएको उल्लेख गरिएको छ ।
प्रतिनिधि सभा सदस्यलाई पक्राउ गरेपछि सभामुखलाई त्यसबारे जानकारी गराउनुपर्ने कानुनी प्रावधान रहेकोले प्रहरीले लिखित जानकारी सभामुखलाई गराएको हो ।
काठमाडौँकाे बनस्थलीस्थित रास्वपाकाे केन्द्रीय कार्यालयबाट शुक्रबार पक्राउ परेका लामिछानेलाई शुक्रबार राति नै पोखरा लगिएको छ। लामिछानेलाई भाेली जिल्ला अदालत कास्कीमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
यसैबिच रास्वपाका कार्यकर्ताले भने काठमाडौँ र पोखरामा प्रदर्शन गरेका छन् । सरकारले फसाएको भन्दै उनीहरूले लामिछानेको पक्राउको बिरोध गर्दै नाराबाजी गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१, १५:५१