काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बुधबार संघ, प्रदेश तथा स्थानीय सरकारहरूले विभिन्न कार्यक्रम गरेका छन् । बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको थियो भने साँझपख दरबारमार्गमा सांगितिक कार्यक्रम आयोजना गरियो ।
टुँडिखेलको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गर्नुका साथै उपत्यकाका विभिन्न नगरपालिकाद्वारा झाँकी र्याली प्रस्तुत गरिएको थियो । साथै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।
दिवसको अवसरमा आज साँझ काठमाडौँको दरबारमार्गमा सांगितिक कन्सर्ट आयोजना गर्न लागिएको छ ।
संविधानसभाले २०७२ असोज ३ गते सङ्घीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रुपमा मनाइन्छ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१, १६:१८