काठमाडौँ । नेपाल राष्ट्र बैंकले गएको जेठ महिनामा मुद्रास्फीति घटेको जनाएको छ । चालू आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले अघिल्लो वर्षको सोही महिनाको अवधिमा मुद्रास्फीति घटेको जानकारी दिएको हो।
तथ्यांकअनुसार यो ११ महिनामा मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत छ । यो अघिल्लो वर्षको सुरुका ११ महिनामा ६ दशमलव ८३ प्रतिशत थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ७६ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६ दशमलव ०२ प्रतिशत छ ।
यस्तै दाल तथा गेडागुडीको ११ दशमलव ७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७ दशमलव ३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६ दशमलव ९८ प्रतिशत र गैह्र–मदिराजन्य पेय पदार्थको ५ दशमलव ९५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५ दशमलव ५१ प्रतिशतले घटेको राष्ट्र वैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८१, १८:१४