काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न अनुरोध गर्नुभएको छ ।
भर्ना गरिएका बालबालिकालाई नियमित विद्यालय पठाउन पनि उहाँले आह्वान गर्नुभएको छ ।
शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान आजबाट सुरु भएको सन्दर्भमा एक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गर्नुभएको हो ।
विद्यार्थी भर्ना अभियानका लागि ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारा यसपालीका लागि छ ।
प्रधानमन्त्रीले भन्नुभएको छ, ‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।’
७ लाख १३ हजार विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउने गरी देशभर आजबाट विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।
विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छाडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान सुरु गरिएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले अभियानअन्तर्गत शैक्षिक सत्र २०८१ मा १२ लाख १३ हजार बालबालिकालाई विद्यालयमा ल्याउन अभियानको थालनी भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१, १०:१५