पोखरा । गण्डकी प्रदेको मुख्य मन्त्रीमा नेकपा (एमाले)का खगराज अधिकारीले दाबी पेस गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र हैसियत मागेका नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा अधिकारीले मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो । एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका अधिकारीले आइतबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको निवास पुगेर दाबी पेस गर्नुभएको हो ।
उहाँले आफलाई एमालेका २२, माओवादी केन्द्रका ८ र प्रदेश सभा सदस्य राजीव गुरुङको समर्थन रहेको दाबी गर्नुभएको छ । गण्डकी प्रदेशमा माओवादीका ८ सांसद रहे पनि कृष्ण धिताल अहिले सभामुख हुनुहुन्छ । तर उहाँलाई समेत जोडेर गठबन्धनले बहुमत पुर्याएर सरकारमा दाबी गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनुभयो ।
सभामुखले सरकार गठन र विघटनमा मत दिन नपाउने कानुनी व्यवस्था छ । मत दिने भए सभामुखको पद त्यस अघि नै त्याग्नुपर्छ । तर संसद्मा विश्वासको मत लिने दिनसम्म राप्रपालाई मनाउने गरी अहिले दाबी पेस गरिएको सत्ता गठबन्धनका नेताहरूले बताएका छन् ।
गण्डकीमा सबैभन्दा ठुलो दल कांग्रेसले पनि सरकारमा दाबी गर्ने तयारी गरेको थियो। २७ सिट रहेको कांग्रेसले राप्रपाको २, माओवादीको चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका १ र दीपक मनाङे गरी ३१ मत पुर्याउने कांग्रेसको तयारी थियो।
कांग्रेस प्रदेश सभा संसदीय दलका नेता समेत रहेका सुरेन्द्रराज पाण्डेले चैत २१ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले त्यही दिन सात दिन भित्र बहुमतको सरकारको दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०, १२:०१