काठमाडौँ । सङ्घीय संसद सचिवालयले समाचार सङ्कलनको क्रममा भइरहेका अवरोध हटाउने प्रतिबद्धता जनाएको छ ।
समाचार सङ्कलनमा पत्रकारलाई रोक्ने कुनै योजना नभएको स्पष्ट पार्दै सचिवालयका अधिकारीहरूले कुनै समस्या भएमा सच्याउने बताएका हुन् ।
यूएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले आज ललितपुरमा गरेको ‘संसदीय रिपोर्टिङ, अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा संसद सचिवालयका महासचिव डा भरतराज गौतमले संसदका खबर नागरिकसम्म पुर्याउने काम सञ्चार जगतको नै भएको उल्लेख गर्नुभयो ।
‘कुनै पनि विधेयक निर्माण प्रक्रियादेखि बनेका कानुन, भएका छलफलको बारेमा सचिवालयले पत्रकारहरूलाई पनि प्राथमिकताका साथ कागजात, सूचना उपलब्ध गराउँदै आएको छ ।’ महासचिव गौतमले भन्नुभयो, ‘पत्रकारलाई संसद, समितिका बैठक प्रवेश र दिनुपर्ने सूचनाका बारेमा केही गुनासो आएका छन् । ती गुनासो फेरि नदोहरिने गरी समाधानका लागि सभामुखज्यूस्तरमा पनि हामी छलफल गरिरहेका छौँ । केही दनिमा नतिजा पनि देखिने छ ।’
संसद सचिवालयका महासचिव डा भरतराज गौतम । संसद् र सांसद्को सुरक्षाको लागि संसद भवन, सिंहदरवार लगायतका क्षेत्रमा जाँच हुने गरेकाले त्यसलाई अन्यथा नलिन पनि अनुरोध गर्दै कतै त्रुटि भएको भए सुधारका लागि मातहतका निकायलाई निर्देशन दिने पनि उहाँको धारणा थियो ।
विधेयक निर्माणको क्रममा नागगरिकको सहभागी बढाउनका लागि पनि सञ्चारमाध्यमले विधेयकको मस्यौदाको बारेमा एकएक गरि सामग्री दिए राम्रो हुने महासचिव गौतमको विचार थियो ।
अन्तरक्रियामा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभासँगै राष्ट्रिय सभालाई पनि उत्तिकै प्राथमिकताका साथ रिपोर्टिङमा राख्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
नीति निर्माणमा राष्ट्रिय सभाको भूमिका झन महत्वपूर्ण हुने भएकाले पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल । सञ्चारकर्मीले संसद्मा पाउने पहुँचका आधारमा सूचना प्रभावकारी हु्ने र लबीसम्म पुग्दा सांसदसँगको पहुँच हुने भएकाले संसदीय रिपोर्टिङमा प्रत्यक्ष सहभागी हुनुको फाइदा धेरै भएको सचिव फुयाँलको टिप्पणी थियो ।
सङ्घीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसद् अनि संसदीय समितिको विश्लेषणात्मक समाचार कम आउने गरेको बताउनुभयो ।
आफूले नबोलेका विषय पनि कतिपय अवस्थामा समाचार बन्ने गरेको उल्लेख गर्दै उहाँले त्यस्तो नगर्न पत्रकारहरूसँग अनुरोध गर्नुभयो ।
स्रोतको सूचना लिइसकेपछि सुरक्षामा पनि ख्याल गर्नुपर्ने भन्दै प्रवक्ता पाण्डेले सकारात्मक कुरा पनि स्रम्प्रेषण गर्न सुझाव दिनुभयो ।
संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले पूरानो नेटवर्किङमा समस्या आएकाले सं्रसदमा हुने प्रत्यक्ष प्रसारणको अडियोमा समस्या
देखिएको बताउनुभयो । सुरक्षा जाँचका नाउमा पत्रकारलाई दुख दिने नियत नभएको उल्लेख गर्दै उहाँले विशेष परिस्थितिमा बाहेक अरु समयमा पत्रकारलाई कतै नरोकिएको धारणा राख्नुभयो ।
अनुभवी पत्रकार संसदीय रिपोर्टिङमा जानुपर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालका अध्यक्ष अर्जुन गिरीले संसदीय रिपोर्टिङमा जारी अवरोध, समस्याका बारेमा छलफल गरेर निकास निकाल्न सहज होस् भन्नका लागि अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा विचार राख्नुहुँदै अकोराबका अध्यक्ष अर्जुन गिरी । सङ्घीय संसदमा मात्रै नभएर प्रदेश सभाको रिपोर्टिङमा भएको अभ्यास र चुनौतीका बारेमा पनि संसदीय मामिला पत्रकार समाज र सङ्घीय संसद सचिवालयले छलफल गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राख्नुभयो ।
अन्तरक्रियामा प्रस्तुति राख्दै संसदीय मामिला पत्रकार समाजका पूर्व महासचिव बबिन शर्माले संसद्ले स्वार्थ बाझिएका विषय लुकाउन खोज्ने गरेको, सुरक्षा संवदेनशीलताको नाउमा दुख दिने गरिएको बताउनु भएको थियो ।
पत्रकारले पनि अध्ययन गरेर मात्रै खबर लेख्नुपर्नेमा जोड दिँदै यसमा सञ्चारमाध्यमले पनि पत्रकारको क्षमता अभिवृद्धिका लागि लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले संसद्को प्रक्रिया नबुझिकनै रिपोर्टिङमा जाँदा समस्या भएको उदाहरण दिँदै प्रक्रियागत विषय बुझेर जानुपर्नेमा जोड दिनुभयो ।
संसदीय मामिला पत्रकार समाजका अध्यक्ष सञ्जीव बगालेले पछिल्लो समय संसद्भन्दा पनि बालुवाटार शक्तिशाली भएको भन्दै त्यस्तो हुन नहुनेमा जोड दिनुभयो । त्यसको लागि सबै पत्रकार रिपोर्टिङमा पनि जानुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा विचार राख्नुहुँदै संसदीय मामिला पत्रकार समाजका अध्यक्ष सञ्जीव बगाले । अझैँ पनि संसदको रिपोर्टिङमा समस्या रहेको जानकारी गराउँदै सभामुख, सचिवालयले ती समस्या तत्काल समाधान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
संसदीय मामिला पत्रकार समाजका पूर्व अध्यक्ष नारायण काफ्लेले संसद्मा सांसद्को हाजिरी दैनिक राखिदिन सुझाव दिनुभयो ।
संसदीय रिपोर्टिङमा देखा परेका समस्या समाधान हुँदै गएको उल्लेख गर्दै उहाँले पत्रकारले पनि संसदीय अभ्यासको बारेमा ध्यान दिनुपर्ने कुरा धेरै रहेको बताउनुभयो ।
संसदीय मामिला पत्रकार समाजका सदस्य शविता शर्माले मर्यादापालकहहरूबाट अझैँ पनि अनावश्यक केरकार हुने गरेको भन्दै सचिवालयले यो सच्याउनुपर्ने बताउनुभयो ।
विगतको तुलनामा हिजोआज सचिवालयले पत्रकारलाई सजिलो बनाउँदै लगेको भनाइ उहाँको थियो ।
अर्का पत्रकार रघुनाथ बजगाईँले सकारात्मक समाचार लेख्ने ठाउँ संसद् भएको भन्दै समयमा सूचना नपाउँदा गलत समाचार बन्ने खतरा हुन्छ भन्नुभयो ।
संसदीय समितिमा संवेदनशील विषयमा हुने छलफल गोप्य राखिने भएकाले त्यसो नगर्न पनि उहाँले संसद सचिवालयलाई आग्रह गर्नुभयो ।
पत्रकार केशव भूलले संसदीय रिपोर्टिङमा देखिएको समस्या समाधानका लागि सचिवालयले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९, १४:१५