काठमाडौँ । सिरहाको नरहा गाउँपालिकाले ५ वर्षे अवधिमा कहिल्यै समयमा बजेट ल्याउन सकेन । जसले गर्दा पालिकाका सम्पूर्ण कामकाज प्रभावित भएको सूचना अधिकारी कुमोद कुमार यादवको भनाइ छ ।
सिरहा मात्रै होइन, मधेश प्रदेशका १ सय ३६ पालिकामध्ये १० पालिकाले चालु आर्थिक वर्षमा समयमै बजेट ल्याउन सकेनन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले चालु आर्थिक वर्ष सकिन ६ महिना बाँकी रहँदा बजेट सार्वजनिक ग¥यो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव ढिला बजेट आउँदा बजेटको खर्च तथा व्यवस्थापनमा समस्या भएको बताउनुहुन्छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलका अनुसार देशभरका ११ पालिकाले यो वर्षको बजेट समयमा ल्याएनन् ।
बजेट ल्याउन ढिला भएको स्वीकारे पनि वेबसाइटमा अद्यावधिक नहुँदा बजेट नल्याए जस्तो देखिएको, रामेछापको लिखु तामाकोशी गाउँपालिकाका लेखा शाखा प्रमुख सन्देश घिमिरे बताउनुहुन्छ ।
संविधानमा व्यवस्था भए अनुसार स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गरिसक्नुपर्छ ।
तर आन्तरिक विवाद र अन्यका कारण देखाउँदै, थुप्रै स्थानीय तहले समयमा बजेट ल्याउँदैनन् । त्यस्ता पालिकालाई असक्षम मान्नुपर्ने टिप्पणी गर्नुहुन्छ स्थानीय तहका एक जना जानकार डा भीमदेव भट्ट ।
स्वायत्त सरकारको मान्यता पाएको स्थानीय सरकारले बजेटबिनै काम गर्दा करौडौँ रकम बेरुजु देखियो । स्वायत्त सरकार भएका कारण उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सक्ने स्थिति पनि छैन ।
जसले गर्दा स्थानीय सरकारले संविधानको उलङ्घन गर्नुका साथै विकासका गतिविधिमा पनि प्रत्यक्ष प्रभाव पारेको विज्ञहरुको ठम्याइ छ ।
स्थानीय सरकार गठन भएको ५ वर्ष बित्नै लागेको छ । अर्को चुनावको तयारी भईरहँदा कतिपय यस्ता स्थानीय तह पनि छन् जसले समयमा बजेट ल्याउन सकेनन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९, १५:०८