काठमाडौँ । नेपालमा सञ्चालित क्रसर उद्योग व्यवस्थापनका लागि सरकारले पटकपटक निर्देशन दिए पनि उद्योग व्यवस्थापन र नियमनमा कुनै प्रगति भएको छैन ।
क्रसर उद्योग सञ्चालनका लागि बनाइएको मापदण्ड अनुसार घनाबस्ती, वन, निकुञ्ज तथा आरक्ष, शिक्षण संस्था, सांस्कृतिक, पुरातात्विक महत्वका स्थानबाट २ किलोमिटरको दुरी राख्नुपर्छ ।
तर, मापदण्ड पालना नहुँदा समस्या भोग्नुपरेको दोलखा सुनखानीका पूणर्बहादुर श्रेष्ठले बताउनुभयो ।
मुलुकभरका क्रसर उद्योग मापदण्ड विपरित चलेको भन्दै सरकारले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन्, बिक्री, व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लागु हुनुअघि चलेका क्रसर उद्योगको विवरण सङ्कलन गर्न निर्देशन दिएको थियो ।
गत वैशाख ३ गतेको मन्त्रीस्तरको निणर्य अनुसार उद्योग विभागले प्रदेशको सम्बन्धित मन्त्रालयमा पत्र पठाए पनि प्रगति विवरण प्राप्त नभएको विभागका महानिर्देशक रामचन्द्र तिवारीको भनाइ छ ।
पत्र लेखेको भए पनि प्रदेश सरकार भने यस विषयमा गम्भीर देखिएका छैनन् ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गण्डकी प्रदेशका ९० प्रतिशत क्रसर उद्योग मापदण्ड विपरित रहेको स्वीकार गर्नुभयो ।
तर नियमन गर्न प्रदेश सरकारले हालसम्म ठोस कदम चालेको छैन ।
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीको अनुगमन गर्न जिल्लामा समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति रहने व्यवस्था रहेपनि संयोजकहरू भने पर्याप्त अधिकार नभएको बताउँछन् ।
जिल्ला समन्वय समिति रुपन्देहिका प्रमुख एकराज विक भने अनुगमन गरे पनि कारबाही गर्ने अधिकार नभएको धारणा राख्नुहुन्छ ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यसअघि पनि क्रसर उद्योगलाई नियमन गर्न भन्दै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराउँदै आएको छ ।
तर, निर्देशन र ध्यानाकर्षणको पालना नभएपछि फेरि छलफलको तयारी गरिएको समिति सभापति पूणर्कुमारी सुवेदीले जानकारी दिनुभयो ।
गृह मन्त्रालयका अनुसार मुलुकभरमा हाल ९ सयभन्दा धेरै क्रसर उद्योग छन् ।
यसमा दर्ता भएका क्रसर उद्योगको सङ्ख्या ७ सयभन्दा धेरै छ भने १ सयभन्दा धेरै दर्ताबिनै चलिरहेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ महिनाअघि जारी गरेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड व्यवहारिक नभएको भन्दै संशोधनको तयारी पनि गरिहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८, १२:०९