काभ्रे । ‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्ने नाराका साथ आजदेखि काभ्रेको पनौतीमा १२ वर्षे मकर मेला सुरु भएको छ ।
पनौतीको त्रिवेणीघाट १२ वर्षमा लाग्ने मकर मेला माघ १ गतेदेखि एक महिनासम्म सञ्चालन हुन्छ ।
कोरोना महामारीका कारण यो वर्षको मकर मेला स्नानमा मात्रै सीमित भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले बढ्दो कोरोना सङ्क्रमणनलाई ध्यानमा राख्दै २५ जनाभन्दा बढी भीडभाड नगर्न आग्रह गरेपछि स्नानका लागि एक पटकमा २५ जनालाई मात्रै प्रवेश दिइएको छ ।
मकर मेला, त्रिवेणीस्नानले शरीर र मन दुवैको रोग नाश हुन्छ भन्ने पौराणिक कथनअनुसार सत्ययुगमा देवताका राजाले आफ्नो शरीरमा लागेको श्राप जन्य रोग पनौती उपासनाबाटै निको पारेका थिए भन्ने जनविश्वास छ ।
मेलामा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै मेला व्यवस्थापन समितिले पाँच वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको र सुरक्षा व्यवस्थापन गर्न सीसीटिभी जडान गरिएको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ १, २०७८, १८:०१