काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका १० का दीपक भण्डारी आफ्नो १८ वर्षीय छोरी दीपिकालाई पिठिउँमा बोकेर विद्यालय ल्याउने र पुर्याउने गर्नुहुन्थ्यो ।
दीपिकाको दुबै खुट्टाले शरीरको भार थेग्दैन्थ्यो । आफ्नो छोरीको यो अवस्थाले बुबा दीपकलाई निकै चिन्तित बनाएको थियो ।
‘कहीँकतैबाट सहयोग मिल्छ कि भन्दै नगरपालिका, रेडक्रस लगाएत विभिन्न संघसस्थामा सहयोग मागेँ,व्यक्तिहरूले पनि धेरैले सहयोग गर्छु भने तर कसैले पनि सहयोग गरिदिएनन्।’दीपिकाको बुवाले भन्नुभयो ।
गत साउन १५ गते, काभ्रेको रेडियो रोशीले दीपिकालाई ह्लिचियरको अभावमा विद्यालय आउनजान समस्या भएको बारेमा तयार पारेको रिपोर्ट सीआईएनबाट प्रसारण भयो ।
उक्त रिर्पोटमा दीपिकाले भन्नुभएको थियो ‘एउटा ह्लिचियर मात्र भए खाजा समयमा अरु साथीहरूसँग बाहिर निस्कन सजिलो हुने थियो ।’
रिपोर्ट सुनेर भक्तपुरका गोकर्ण तिमल्सिनाले दीपिकालाई जसरी पनि सहयोग गर्ने अठोट गर्नुभयो ।
‘झण्डै एक महिना पहिला रेडियो रोशीबाट पठाएको रिर्पोट सीआईएनबाट बजेको थियो । त्यो रिर्पोटले मेरो मन छोयो र आफूले केही नखाएर भए पनि सहयोग गर्छु भन्ने सोचेँ र एक महिनाको प्रयास पछि ह्लिचियर दिन सफल भएका छौँ ।’ गोकर्णले सुनाउनुभयो ।
उहाँले बिभिन्न सङ्घसंस्थामा पहल गर्नुभयो तर काठमाडौँको मैतिदेवीमा रहेको दुरदृष्टि समाज सेवा नेपाल दीपिकालाई सहयोग गर्न सहमत भयो र काठमाडौँमा एक कार्यक्रमका बीच १९ भदौमा ह्विलचियर हस्तान्तरण गरियो ।
सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताउनु हुन्छ संस्थाका निर्देशक सुमन खाती । ‘हाम्रो ठूलो सहयोग त हैन तर यति सहयोग हामीले गर्दा उहाँलाई हिँडडुल गर्न सहज हुन्छ भने हामीले किन सहयोग नगर्ने भन्ने सोचेका हौँ ।’ उहाँले थप्नुभयो ।
ह्विलचियर वितरण कार्यक्रममै सहभागीहरूले दीपिकाको अध्ययनमा सहयोग पुगोस् भन्दै १४ हजार रुपैयाँ पनि उठाए ।
अहिले दीपिका ह्विलचियरको सहायतामा साथीहरूसित हिँडडुल गर्न पाउदा खुसी हुनुहुन्छ ।
गहभरि आँसुका दीपिकाले भन्नुभयो, ‘सायद म जीवनमा पहिलो पटक होला यतिका धेरै खुसी भएको । विद्यालयमा सबै साथीहरू खाजाको समयमा बाहिर निस्कँदा म मात्र कक्षामा एक्लै बस्नु पर्दथ्यो, एकदमै नरमाईलो लाग्थ्यो । अहिले खुसी छु किन कि म पनि ह्विलचियरमा निस्कन सक्ने भएको छु ।’
पढाइमा अब्बल दीपिका काभ्रेको मण्ठडनदेउपर नगरपालिकाको विन्दाबासिनी माविमा कक्षा ८ मा अध्यन गर्नु हुन्छ ।
कक्षामा पहिलो, दोस्रो हुनु खुसीको कुरा थियो तर साथीहरुसँग घुलमिल हुन नपाइ एक्लै बस्नु पर्दा निरास उहाँलाई ह्विलचियरले मन लागेको ठाउँमा जानआउन सजिलो बनाउनुका साथै उत्साहित बनाइदिएको छ ।
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८