काभ्रे । काभ्रेको विकट महाभारत गाउँपालिकाको बुढाखानीबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
महाभारत ५ का वडाअध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता रविन मोक्तानका अनुसार गाउँपालिकाको समन्वयमा बुढाखानीकी २० वर्षीय अनुशा मोक्तानको हेलिकप्टरमार्फत उद्वार गरिएको हो ।
लामो समयसम्म बेथा लागेको तथा दिसापिसाब रोकिएका कारण अनुशाको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।
उहाँलाई बुढाखानी बर्थिङ सेन्टर चारकिल्लामा ल्याइएकोमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाण्डौँस्थित प्रसूति गृह थापाथलीमा लगिएको हो ।
महाभारत गाउँपालिकाबाट ६ जनाभन्दा धेरै सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार भइसकेको अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
डाँडापारि क्षेत्रमा अस्पाताल र भएको स्वास्थ्य चौकीमा उकरण अभावकै कारण पनि आपतमा हेलिकप्टरबाट सहरमै लैजानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
महिला तथा बालबालिका मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार गर्दै आएको छ । कार्यविधि अनुसार सुत्केरी पोषण स्याहार तथा यातायातवापत २० हजार रुपैयाँ उपलब्ध गराइन्छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८, २१:४६