काठमाडौँ । रसुवाको विनाशकारी भोटेकोशी बाढीपछिको जोखिम टार्नका लागि सञ्चारमाध्यम र सरोकारवालाको भूमिका महत्वपूर्ण हुने विज्ञहरूले जोड दिएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल र सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी) सँगको सहकार्यमा एसिया–प्रशान्त प्रसारण विकास संस्थान (एआईबीडी) ले आयोजना गरेको अनलाइन छलफलमा विज्ञहरुले बाढीको विपद्पछि देखा पर्ने असर र जोखिम बारेमा व्याख्या गरेका थिए ।
"नेपालको विपद् प्रतिकार्य: सुरक्षा, मानसिक स्वास्थ्य र अफवाहविरुद्धको अभियान" विषयक छलफलमा वक्ताका रुपमा सहभागी हुँदै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराबद्वारा सञ्चालित) सामुदायिक सूचना नेटवर्क (सीआईएन) का सम्पादक लिल प्रकाश चन्दले भदौ १० मा रसुवाको भोटेकोशी बाढीपछि रसुवा र नुवाकोट जिल्लाका सामुदायिक रेडियोको सञ्चालन, बाढीको प्रभाव मूल्याङ्कन तथा रिपोर्टिङमा स्थलगत रुपमा ४ दिन बिताउँदाको अनुभव सुनाउनुभयो ।
बाढी आउँदै गरेको बारेमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट सामाजिक सञ्जालमार्फत प्राप्त सूचनाका बारेमा जानकारी दिने, नागरिकलाई सुसूचित गराउने र सरोकारवालाको पूर्व तयारी, उद्धारमा भएका गतिविधिको बारेमा डिजिटल सामग्री उत्पादन तथा प्रसारणमा तीव्रता दिएको बताउँदै सम्पादक चन्दले विनाशकारी बाढीपछि डर र तनावका बीच सीआईएनले समाचार तथा सूचना र जानकारी केन्द्रित सामग्री निरन्तर उत्पादन तथा प्रसारण गरिरहेको उल्लेख गर्नुभयो ।

बाढी आएको करिब २ हप्ता वित्दा पनि होल्डिङ सेन्टरमा बसेका बाढी प्रभावितले खानेपानी, राम्रो बास र सुरक्षाको अनुभूत गर्न नपाएको बताउँदै उहाँले भन्नुभयो, "झाडापखाला, हैजा लगायतका सरुवा रोगको जोखिम बाढी प्रभावित क्षेत्रमा छ । प्रभावितलाई मानसिक समस्याका लक्षण पनि देखिन थालेका कारण उनीहरुलाई र पत्रकारलाई समेत मनोपरामर्श सेवा दिइनुपर्छ । "
बाढी प्रभावित क्षेत्रमा पुगेका सञ्चारकर्मीले सङ्कलन गर्ने सामग्री र उनीहरूले दिने विषयवस्तुको बारेमा पनि सरोकारवालाले निगरानी नबढाउँदा अफवाह र भ्रामक सामग्री पनि सामाजिक सञ्जालमा देखिएको उहाँको भनाइ छ ।
छलफलमा नेपाल टेलिभिजनका एडिटिङ चिफ निराजन खनालले भोटेकोशी बाढीपछि रिपोर्टिङका लागि बनाएको रणनीति र त्यसबेलाको मनस्थितिको बारेमा अनुभव सुनाउनुभयो ।
काटमाठडौँदेखि नुवाकोट र रसुवा जिल्लामा रिपोर्टिङका लागि नेपाल टेलिभिजनले नेपाली सेना तथा सरोकारवाला निकायसँग गरेको समन्वयको बारेमा उल्लेख गर्दै खनालले विकट भौगोलिक अवस्था, सडकको दूरावस्था तथा खराब मौसमका बीच पनि दोस्रोदिनदेखिन नै स्थलगत रुपमा रिपोर्टिङमा परिचालित भएको उहाँको भनाइ छ ।

वेबिनारमा सहभागी हुँदै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका अध्यक्ष अर्जुन गिरीले भोटेकोशी बाढीपछिको प्रभाव र अपनाउनुपर्ने सजगताका बारेमा छलफलको आयोजना गरेकोमा एआईबीडीलाई धन्यवाद दिँदै बाढीपछि राहत वितरण तथा पुनस्थापनामा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
अध्यक्ष गिरीले रसुवा र नुवाकोट जिल्लाका सामुदायिक रेडियोको प्रसारण निरन्तर र प्रभावकारी बनाउनका लागि जेनेरेटरलगायतका केही उपकरण सामुदायिक रेडियोमा पठाएको र थप उपकरण सहयोगका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको बताउनुभयो ।
बाढीपछिको जोखिम कम गर्नका लागि सूचना र जानकारीका माध्यमबाट समुदायलाई सजग बनाउनका लागि अकोराले निरन्तर सहयोग र समन्वयको काम गरिरहेको उहाँको भनाइ छ ।

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले नेपालमा आएको विनाशकारी बाढीपछिको जोखिम र सरोकारवालाको भूमिकाका बारेमा छलफल आयोजना गरेकोमा एआईबीडीलाई धन्यवाद दिँदै विपद्मा सार्वजनिक सेवा प्रसारणले जनतालाई सुसूचित गर्ने सामग्रीको उत्पादन तथा प्रसारणमा जोड दिएको बताउनुभयो ।
विपद्पछिको जोखिम कम गर्नका लागि सूचनामूलक, जानकारीमूलक सामग्री निरन्तर प्रसारण गर्ने योजना रहेको पनि उहाँको भनाइ छ ।
छलफलमा नेपाली सेनाका प्रवक्ता, ब्रिगेडियर जनरल राजाराम बस्नेतले भोटेकोशी बाढी प्रभावितको उद्धारमा नेपाली सेनाले खेलेको नेतृत्वदायी भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो भने सकभर चाँडो उद्धार गर्ने उद्धेश्यका साथ नेपाली सेनाकाका विभिन्न तहका जनशक्ति बाढी प्रभावित क्षेत्रमा परिचालित भएको बताउनुभयो ।
वेबिनारमा भारतको , राष्ट्रिय मानसिक स्वास्थ्य तथा स्नायु विज्ञान संस्थानका डा कासी सेकरले भोटेकोशी बाढीपछि विभिन्न उमेर समूहका व्यक्तिमा फरकफरक प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने भएकाले यसबारेमा सचेतना जगाउनका लागि स्थानीय सामुदायिक रेडियो र अरु सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुने बताउनुभयो ।
विनाशकारी बाढीका कारण गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति बढी प्रभावित हुनु भएका कारण मनोपरामर्शको सेवाका लागि सरकार र सरोकारवाला निकायले विशेष ध्यानुपर्ने सुझाव उहाले दिनुभयो ।
डा सेकरले विपद्पछि पर्ने मानसिक स्वास्थ्य प्रभाव र सरोकारवालाको भूमिकाका बारेमा आफूले लेखेका आधा दर्जनभन्दा धेरै पुस्तक अकोराबमार्फत नेपाल पठाउने जानकारी दिँदै ती पुस्तक नेपाली वा यहाँ प्रचलनमा रहेका अरु मातृ भाषामा अनुवाद गरेर प्रकाशन तथा प्रसारणका लागि अनुमति दिने घोषणा पनि गर्नुभयो ।
समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन समाज भारतका प्राध्यापक डा सूर्य प्रकाश गुप्ताले भोटेकोशी बाढी प्रभावितमा देखिन सक्ने असर न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी निकायको भूमिका महत्वपूर्ण हुने जनाउँदै आर्थिक,सामाजिक तथा मानसिक रुपमा पुनस्थापनाका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
मलेसियन इन्टरनेसनल सर्च एन्ड रेस्क्यु (एमआईएसएआ) का अध्यक्ष क्याप्टेन के. बालाले भोटेकोशी बाढी प्रभावितलाई राहतका लागि आफूले पनि पहल गरिररहेको जानकारी गराउँदै बाढी पछि उद्धारका लागि सरकार र सरोकारवालाबीच राम्रो समन्वय आवश्यक रहेको बताउनुभयो ।
वेविनारको सहजिकरण गर्दै एआईबीडीका महासचिव फिलोमेना प्रागासमले बाढीपछि सामुदायिक रेडियोको भूमिका अझ धेरै महत्वपूर्ण हुनेमा जोड दिँदै मिथ्या र भ्रामक सूचना चिर्नका लागि पनि सही सूचना दिन सामुदायिक रेडियोले विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
अकोराब नेपाल र पीएबीएनको सहकार्यविना वेविनारको आयोजना गर्न सम्भव नहुने भन्दै उहाँले भोटेकोशी बाढीपछि ज्यानको कुनै प्रवाह नगरी पत्रकार र सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली सेनालगायतका सुरक्षा निकायले उद्धारमा चालेका हरेक कदम सराहणीय रहेको विचार राख्नुभयो ।
वेविनारमा नेपाललगायत विश्वका विभिन्न स्थानबाट गरी करिक १ सय जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३