रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ ।
पहिरोमा परेका दुई जना अझै बेपत्ता छन् । घटनास्थलमा ५ जनाको शव भेटिएको थियो ।
बगाएर लगेको अवस्थामा प्यूठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाको किनारमा ५ जनाको शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले सीआर्ईनलाई बताउनुभयो ।
पहिरोमा पुरिएर मृत्यु हुनेहरूमा १८ वर्षिया शान्ति पुन मगर, ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षिया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षिया मनरखी पुन मगर रहेको प्रहरीले जनाएको छ ।
वेपत्ता दुई जनाको सशस्त्र प्रहरीले र नेपाल प्रहरीले खोजी कार्य जारी राखेका छन् । पहिरोमा १४ जना परेका थिए । उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तिमगर लाई थप उपचारको लागि बुटवल लगिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३