काठमाडौँ । प्रत्येक वर्ष साउन २५ गते मनाइँदै आएको सामुदायिक वन दिवस यस वर्ष सप्ताहव्यापी रूपमा मनाउन सुरु भएको छ।
सामुदायिक वन उपभोक्ता महासङघ (फेकोफन) नेपालले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी यही साउन १९ देखि २५ गतेसम्म “अबको सामुदायिक वन, युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने नारासहित विभिन्न कार्यक्रम आयोजना गरी दिवस भव्य रूपमा मनाउन लागिएको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले फेकोफनका जिल्ला महासङ्घहरूले पनि सामुदायिक वनका असल अभ्यास र चुनौतीका बारेमा सरोकारवालाबीच संवाद गर्दै दिवस मनाउन भनिएको बताउनुभयो ।
हाल देशभर २३ हजार ५ सय ९ सामुदायिक वन उपभोक्ता समूहले २५ लाख १७ हजार ७६२ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेको उल्लेख गर्दै उहाँले ३५ लाख २० हजार ९६ घरधुरी सामुदायिक वनमा आबद्ध भएको र वनको संरक्षणमा योगदान गरिरहेको उल्लेख गर्नुभयो ।
"सामुदायिक वन व्यवस्थापनले स्थानीय समुदायको सहभागिता सुदृढ बनाउँदै अन्तर्राष्ट्रियस्तरमा समेत सिकाइ केन्द्रका रूपमा पहिचान बनाएको छ।" अध्यक्ष भण्डारीले भन्नुभयो ।
फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले सामुदायिक वन अभियानमार्फत वन विनाश तथा क्षयीकरण नियन्त्रण भई देशको कुल भूभागको ४६ प्रतिशतभन्दा बढी क्षेत्रमा वन विस्तार भएको बताउनुभयो ।
सामाजिक समावेशीतामा उल्लेखनीय प्रगति भई महिला नेतृत्वमा ५० प्रतिशतभन्दा बढी वृद्धि भएको पनि उहाँको भनाइ छ।
काठ, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको आपूर्ति वृद्धि, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा विपद् जोखिम न्यूनीकरणमा समेत सामुदायिक वनको महत्वपूर्ण योगदान रहेको पनि उपाध्यक्ष शाहीले बताउनुभयो ।
महासचिव पार्वता गौतमले वनमा आधारित उद्यम, सामुदायिक पर्यापर्यटन तथा कृषि वन प्रणालीमार्फत रोजगारी सिर्जना, आयआर्जन र खाद्य सुरक्षामा टेवा पुगेको उल्लेख गर्दै दिवसको अवसरमा काठमाडौँ उपत्यका लगायत देशैभरका सामुदायिक वन उपभोक्ता समूहले विषयगत छलफल सुरु गरेको जानकारी दिनुभयो ।
सामुदायिक वनको कोष परिचालनमार्फत २५ प्रतिशत रकम वन संरक्षणमा, ५० प्रतिशत महिला, आदिवासी जनजाति, दलित तथा विपन्न वर्गको क्षमता विकासमा र बाँकी रकम सामुदायिक विकासका क्षेत्रमा खर्च हुँदै आएको पनि उहाँले बताउनुभयो ।
फेकोफनका सचिव डिल्ली गिरीले वन पैदावार सङ्कलनमा झन्झटिला अनुमति प्रक्रिया, दोहोरो करको व्यवस्था, नीति तथा कानून निर्माणमा समुदायको सहभागिता अभाव, प्राविधिक सहयोगको कमी, तथा विभिन्न पूर्वाधार आयोजनाद्वारा क्षतिपूर्ति बिना वन क्षेत्र अतिक्रमणजस्ता समस्या भोग्नुपरेको धारणा राख्नुभयो ।
महासङ्घले सामुदायिक वनका उपलब्धिबाट सिक्दै आगामी दिनको मार्गचित्र तय गर्न सकेमा देशलाई आत्मनिर्भर र समृद्ध बनाउन टेवा पुग्ने विश्वास पनि व्यक्त गरेको छ। यस अभियानमा सहकार्य र समन्वय गर्ने सबै सरोकारवालाप्रति पनि फेकोफनले धन्यवाद ज्ञापन गरेको छ ।
दिवसको अवसरमा यही साउन २५ गते विशेष कार्यक्रम गरिने पनि फेकोफनले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३