काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
निगमले गएराति १२ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।
योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ ।
चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २०.१९ रुपैयाँ र डिजेलमा ३९.६७ रुपैयाँ बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून दरमा मात्र मूल्य बढाइएको निगमको दाबी छ ।
यसरी मूल्य वृद्धि गर्दा समेत निगमलाई पाक्षिक रूपमा (१५ दिनमा) करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने देखिएको निगमको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक र निरन्तरको मूल्यवृद्धिका कारण निगम चरम आर्थिक दबाबमा परेको भन्दै सबै उपभोक्ता र सरोकारवालालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन निगमले विशेष अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३