सिन्धुपाल्चोक । नेपाल–चीन सीमास्थित तातोपानी नाका प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अस्थायी रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले फागुन २१ गते राति १२ बजेसम्मका लागि नाका पूर्णरूपमा बन्द रहने जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठकाअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला कमाण्ड पोष्टको निर्णयअनुसार नाका बन्द गरिएको हो ।
“निर्वाचन सम्पन्न भएलगत्तै नाका पूर्ववत रूपमा सञ्चालनमा ल्याइनेछ,” श्रेष्ठले भन्नुभयाे। उहाँकाअनुसार निर्वाचन कार्यमा प्रशासनका कर्मचारीहरू मतदान केन्द्रमा खटिएकाले निर्वाचन सम्पन्न नहुँदासम्म शान्ति सुरक्षा र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रवाह पनि बन्द गरिएको छ ।
तातोपानी नाका नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण नाका मानिन्छ । निर्वाचन अवधिभर सीमाक्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२