कैलाली । कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति बन्ने भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति २०८२ बन्न लागेको हो।
गुडनेवर्स इन्टरनेशनल नेपालको सहयोगमा नीतिको मस्यौदा तयार गरी प्रारम्भिक छलफल समेत भईसकेको छ। तीनवटै पालिकामा निर्माण हुन लागेको नीतिले अपाङ्गता भएका बालबालिकाको हक, अधिकार र समानजनक जीवनयापनको अधिकारलाई कानुनीरूपमा संरक्षण गर्न, सुनिश्चित हुने बिश्वास गरिएको छ। अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानित जीवन जिउन सहज होस् भन्ने अभिप्रायका साथ कैलालीका तीनवटै पालिकामा स्थानीय नीति निर्माणमा सहयोग गरिरहेका छौं गुडनेवर्स इन्टरनेशनलका कार्यक्रम संयोजक अरूण चौधरीले बताउनुभयो ।
लम्कीचुहा नगरपालिका ५ का दृष्टिबिहिन प्रभुनाथ उपाध्यायले यस नीतिले अपाङ्गता भएका बालबालिकालाई सहयोग पुग्ने बताउनुभयो। थापापुरका दृष्टिबिहिन चक्र बहादुर मल्लले नीतिमा भएका कुरा पालिकाले सबै कार्यन्वयन गर्ने हो भने अपाङ्ग भएका बालबालिकाहरूलाई जीवनयापनमा केही सहज हुने बताउनुभयो ।
हिडाइ सम्बन्धी समस्या भएकी अपाङ्ग महिला देवु टमट्टाले सरकारले नीति राम्रो बनाए पनि कार्यन्वययनको पाटो भने फितलो हुदा आफूले दुःख पाईरहेको गुनासो समेत गर्नुभयो ।
लम्कीचुहा नगरपालिकामा स्थानीय ऐन लागू भएपछि धेरै कानुन तथा कार्यविधि निर्माण भएको भएपनि अपाङ्गता भएका बालबालिकाको स्थानीय कानुन नहँुदा समस्या भएको थियो । अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गर्न धेरै समस्या तथा कानुनी अप्ठ्यारो थियो, लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुषमा महता के.सी. ले भन्नुभयो “ अब यो नीति निर्माण भएपछि सहज हुनेछ“ ।
उहाँले लम्कीचुहा नगरपालिकाले हाल सम्म १२ वटा ऐन निर्माण, कार्यविधि र नीति ८७ गरी जम्मा ९९ वटा नीति, नियमावली र कार्यविधि निर्माण गरेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत के.सीले अपाङ्गता भएका बालबालिका सम्बन्धी नीति बनाउनको लागि जनप्रतिनिधि र सरोकारवाला संग दुई÷तीन पटक विभिन्न चरणमा छलफल भई सकेको छ । हामी नीति निर्माणको अन्तिम चरणमा छौ ।
नेपालको संविधानको धारा ४२ ले सामाजिक न्यायको हकमा अपाङ्गता भएका व्यक्तिलाई समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक निकायहरूमा सहभागी गराउनुपर्ने प्रावधानको सुनिश्चितता गरेको छ।
अपाङ्गता भएका व्यक्तिहरूको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको सम्मानजनक जीवनयापनको अधिकारलाई कानुनले संरक्षण र प्रबद्र्वन गरेको कारण पनि पालिकाले संविधानको कार्यन्वयन र उनिहरूको हक र अधिकारको सुनिश्चितताको लागि नीती निर्माण गर्न लागेको के.सीले बताउनुभयो । उहाँले यो नीति निर्माण भएपछि अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा कार्यक्रम र बजेट निर्माणमा सहज हुने बताउनुभयो।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीले नीति निर्माणको अन्तिम चरणमा छलफल भैरहेको भएपनि सरोकारवाला र विशेष गरेर अपाङ्गता भएका व्यक्तिहरूको सुझाव अनुसार अझै यस नीतिलाई सरल र सबैलाई समावेश गर्ने खालको बनाएर अन्तिम रूप दिने बताउनुभयो ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले अपाङ्गता भएका बालबालिकाहरूलाई यो नीतिले उनिहरूको संविधान प्रदत्त हकअधिकार सुनिश्चित हुने आफूले विश्वास लिएको बताउनुभयो ।
टीकापुर नगरपालिकाका नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारू र जानकी गाउँपाकलिकाका अध्यक्ष गणेश चौधरीले अपाङ्गता भएका बालबालिका सम्बन्धी निर्माण हुन लागेको स्थानीय नीतिले उनिहरूको अधिकार संगै सहज जीवनयापनको सुनिश्चितता गर्ने बताउनुभयो ।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीसँगको साझेदारी र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकासँगको समन्वयमा समावेशी परियोजनामार्फत तीनवटै पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति २०८२ निर्माण भईरहेको छ।
अपाङ्गता सम्बन्धी वर्तमान स्थिति
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालमा कुल छ लाख ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन । जुन कुल जनसंख्याको २.२ प्रतिशत हो । सुदूरपश्चिम प्रदेशमा ६९ हजार छ सय ७७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन । जुन प्रादेशिक कुल जनसंख्याको २.६ प्रतिशत हो । कैलालीको जिल्लामा मात्र २२ हजार चार सय ६५ अपाङ्गता भएका व्यक्तिहरू रहेका छन । जुन जिल्लाको जम्मा जनसंख्याको २.५ प्रतिशत हुन्छ । जिल्लाको लम्कीचुहा नगरपालिकामा दुई हजार सात सय ४० जना अपाङ्गता भएका व्यक्तिहरू छन । जसमा नगरपालिकाको कुल जनसंख्याको ३.१ प्रतिशत हो ।
टीकापुर नगरपालिकामा एक हजार नौं सय २७ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन । जसमा नगरपालिकाको जनसंख्याको २.२ प्रतिशत हो ।
जानकी गाउँपालिकामा जम्मा एक हजार दुई सय सात जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन ।जसमा पालिकाको कुल जनसंख्याको २ दशमलब ४ प्रतिशत हो । नेपालमा १८ बर्ष मुनिका बालबालिकाको जनसंख्या कुल जनसंख्याको ३४ दशमलब ८ प्रतिशत रहेकोेमा अपाङ्गता भएका बालबालिकाको उल्लेख्य संख्या रहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२