वर्षायाम सुरू भएसँगै कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा रहेको वादी बस्ती डुवानमा परेको छ । कुल एक सय ७१ घरधुरी रहेको उक्त बस्तीका एक दर्जन घर भारी वर्षा नहुँदै डुवानमा परेका हुन् । घर डुवानमा परेपछि केही प्रभावित आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् भने केही डुवानमा परेका घरभित्र नै बसिरहेका छन् । घरभित्र पानी पसेपछि खाना पकाउन र शौचालय जान मात्रै नभइ आवतजावतमै समस्या भएको छ ।
काठले बनाएको कच्ची सानो घरभित्र स–साना तीन छोराछोरी समाएर बसेकी ३३ वर्षिया रिमा वादीको घरमा एक हप्तादेखि चुलो बल्न सकेको छैन । उहाँको खाना पकाउने भान्साकोठामा पानी भरिएको छ । घर आसपासमै सर्प हिडिरहेको देखेपछि उहाँले छोराछोरीलाई एक्लै छोड्न सक्नु भएको छैन । केही महिना अघि नजिकै रहेको रानी जमरा कुलरिया नहरमा नुहाउन जानुभएका श्रीमानको डुबेर मृत्यु भए पछि रिमाले दैनिक ज्याला मजदुरी गरेर छोराछोरीको पालनपोषण गरिरहनुभएको छ । बस्तीमा पानी पसेदेखि भने उहाँ ज्याला मजदुरी गर्न पनि जान पाउनुभएको छैन । ‘गत जेठमा यही नहरमा डुबेर श्रीमानको मृत्यु भयो, अहिले भएको घर पनि डुबानमा प¥यो’ उहाँले भन्नुभयो ।
सोही बस्तीकी शान्ता वादीको घर अगाडि पानी भरिएर तलाउ बनेको छ । भान्सा र शौचालय पानीले भरिएको छ । शान्ता भन्नुहुन्छ, ‘पानी भरिएर न खाना पकाउने ठाउँ छ न त दिसापिसाब गर्ने ठाउँ नै, कतिखेर बच्चा पानीमा डुब्ने हुन् भन्ने चिन्ता मात्र ।’ उत्तरमा पूर्वपश्चिम महेन्द्र राजमार्ग र दक्षिणमा रानी जमरा कुलरिया नहरको बीचमा रहेको उक्त बस्ती वर्षातको समयमा बर्सेनि डुबानमा पर्ने गरेको छ । बस्तीमा अघिल्लो वर्ष ढल निकास गरिएको भए पनि भरपर्दो नहुँदा बस्तीको केही भाग डुवानमा पर्ने गरेको छ । बस्तीमा रहेका सुकेका रूख यसै वर्षको असार महिनामा काटेपछि हावाहुरीबाट सुरक्षित महसुस गरेका वादी समुदायका स्थानीयवासीले डुवानको मार भने खेप्नुपरेको वादी अगुवा रमेश वादीले बताउनुभयो । उहाँले भन्नुभयो ‘सुकेका रूख काट्दा बस्ती केही सुरक्षित त भयो तर रूख काट्दा बस्तीमा निर्माण भएको ढल निकास भत्किँदा डुवानको समस्या भयो ।’ उचित ढल निकास नहुँदा सो बस्तीमा बस्दै आएका बादी समुदायले बर्सेनि बाढी र डुवानको मार खेप्नुपरेको छ । लम्किचुहा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष लबबहादुर शाहीले नाला र ढल निकासका लागि आवश्यक संरचना निर्माणमा तीव्रता दिइने बताउनुभयो । २०६४ सालदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट बसाइँ सरेर आएका एक सय ७१ घरधुरी वादी समुदाय कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा बस्दै आएका छन् । भूमिहिन समुदायको रूपमा रहेका वादीका परिवारलाई सरकारले अहिले सोही ठाउँमा जग्गा उपलबध गराएर एक सय ४३ वटा घरसमेत बनाइ दिएको छ । हाल सो बस्तीमा बस्दै आएका बादी समुदायका ३३ घरपरिवारका मात्रै घर बन्न बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२