काठमाडाैँ । काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन हुने भएको छ। बहु जातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टी इथ्निक लिटरेचर अफ द वर्ल्ड '(MELOW)’ सँगको संयुक्त आयोजनामा असोज ११ गतेदेखि १३ गतेसम्म २५औँ अन्तर्राष्ट्रिय बहु जातीय साहित्य सम्मेलन आयोजना हुन लागेको विश्वविद्यालयले जनाएको छ ।
सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रूपमा चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के(कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुनेछ। यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागी रहने र करिब एक सय २० वटा कार्यपत्र प्रस्तुत हुने छन्।
सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. अम्मरराज जोशीले मुख्य सम्बोधन गर्ने विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा। कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूह छलफल विशेष आकर्षणका रूपमा रहने छ ।
सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप-शीर्षकमा भएका अनुसन्धानको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ। सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावना, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र नदीहरूका प्रतिबिम्ब, महासागर तथा नियात्रा जस्ता विषय समेत समेटिनेछन्।
सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ। यसका अलावा मान्छेको आधुनिक प्रविधिसँग बढिरहेको निकटताबीचको सम्बन्ध र विश्वभर फैलिएको व्यावसायिकीकरणको बढ्दो प्रभावलाई समेत प्राथमिकता दिनेछ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१, १३:५३