काठमाडौँ । अछामका ऐश्वरी कुमालको खेल कौशलबाट जो कोही सजिलै प्रभावित हुन्छ । ह्विलचियर प्रयोगकर्ता ऐश्वरी बास्केटबल खेलाडी हुनुहुन्छ । हुन त ऐश्वरीको सपना खेलाडी बन्छु भन्ने थिएन ।
चार वर्ष अघि, ६ जनाको टोलीसँगै घर लिपपोत गर्ने माटो लिन गएका बेला उहाँको आधा शरीर ढिस्कोले पु¥यो, कम्मरदेखि तलको भाग नचल्ने भएपछि उहाँ ह्विलचियरको भर पर्नुपर्ने भयो । ‘मलाई त्यो दिन सम्झनै मन लाग्दैन’ गला अवरुद्ध पार्दै उहाँले भन्नुभयो, ‘म हिँड्न नसक्ने भए पछि परिवारले डाक्टर बन्ने सपना पनि देख्न छोड्यो । म बास्केटबलको कोर्टमा आइपुगेँ ।’
अपाङ्गता भएका व्यक्तिले विभिन्न खेल खेल्ने भए पनि ऐश्वरीलाई यो कुरा थाहा थिएन । ‘ह्विलचियर बिना कतै जान नसक्ने भएपछि म त के गरुँला भन्ने लागेको थियो, तर खेल एउटा माध्यम रहेछ, म खुसी छु’ ।
अपाङ्गता भए पछि नै जिन्दगीले अर्को लक्ष्य तय गरेको र त्यसैतर्फ अघि बढिरहेको ऐश्वरी बताउनुहुन्छ । एश्वरी छिट्टै राष्ट्रिय खेलाडी बन्नेमा प्रशिक्षक पनि ढुक्क छन् । ऐश्वरी जस्तै अपाङ्गता भएका र अन्य खेलाडीलाई १५ वर्षदेखि प्रशिक्षण दिँदै आउनुभएका प्रशिक्षक ध्रुवप्रसाद चौलागाँई ऐश्वरीले अन्तर्राष्ट्रिय खेलाडी बन्नेमा विश्वस्त हुनुहुन्छ । ‘सुरुसुरुमा घुलमिल गराउनै गाह्रो भयो तर ऐश्वरीले एकदमै राम्रो प्रगति गर्दै हुनुहुन्छ’, चौलागाईँले भन्नुभयो ।
यही अवस्थाबाट गुज्रँदै अघि बढ्नुभएका ह्विलचियर बास्केटबल खेलाडी रजनी राईले दुई पटक अन्तर्राष्ट्रियकरण खेल खेलिसक्नुभयो । खोटाङमा आठ वर्ष अघि रुखबाट लडेपछि जीवनभर आफ्नै खुट्टाले हिँड्न सक्दिन भन्ने थाहा पाउँदा रजनी मानसिक रूपमा पनि विचलित हुनुभयो । ‘घटना भएको धेरैपछि मलाई अब म मेरो खुट्टा टेकेर हिँड्न सक्दिन भन्ने थाहा भयो, तर म त्यत्ति बेलाको अवस्था सम्झन पनि चाहन्न’ रजनी भन्नुहुन्छ । उहाँ मनोपरामर्शकालागि गएका बेला ह्वीलचियर खेलाडीसँग भेट भएपछि आफू पनि खेलतिर आकर्षित भएको उहाँ बताउनुहुन्छ ।
खेलाडीले पुरस्कार लिएको देख्दा उत्साही हुने रजनीसँग अहिले धेरै मेडल र प्रमाणपत्र छन्, जुन उहाँले गनेरै भ्याउनुभएको छैन । खेल्न भन्दा खेल स्थलसम्म पुग्न भने निक्कै चुनौतीपूर्ण रहेको उहाँको अनुभव छ । अपाङ्गतामैत्री पूर्वाधार नहुँदा यस्तो सास्ती भोग्नुपरेको उहाँ बताउनुहुन्छ ।
ऐश्वरी र रजनीलाई लाग्छ ह्विलचियर प्रयोगकर्ता भएपछि नै जीवनको लक्ष्य भेटियो । तर सरकारले अपाङ्गता भएकाहरूको खेललाई उत्ति सारो महत्त्व दिएको छैन । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घले भने वार्षिक रूपमा यस्तो प्रतियोगिता सञ्चालन गर्दै आएको छ । सङ्घका उपाध्यक्ष गङ्गा छन्त्यालले अपाङ्गता भएका व्यक्तिको मनोबल बढाउन आफूहरूको अगुवाइमा प्रतियोगिता गर्दै आएको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अनुसार अपाङ्गता १० प्रकारका छन् । कतिपय अपाङ्गता जन्मजात हुन्छ भने कतिपय विभिन्न घटनाबाट । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्याको २ दशमलव २ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । अपाङ्गता भएका व्यक्तिलाई सरकारले अपाङ्गताको प्रकार खुल्ने परिचयपत्र वितरण अनि सामाजिक सुरक्षा भत्तामा मात्रै प्राथमिकता दिने गरेको छ । प्रशिक्षक ध्रुवप्रसाद चौलागाईँ अपाङ्गता भएका व्यक्तिका लागि वर्षमा केही लाख बजेट विनियोजन गरिदिएर सरकार पन्छिने गरेको बताउनुहुन्छ । ‘दुई–चार लाख बजेट विनियोजन गरिदिएपछि सरकारले आफ्नो भूमिका नै बिर्सने गरेको छ’ चौलागाँईले भन्नुभयो ‘अपाङ्गतामैत्री व्यवहार खोई ? उनीहरूसँग यति धेरै क्षमता छ तर सरकारले यसको उपयोग गर्ने मौका नै दिँदैन ।’
नेपालमा अहिले करिब डेढ सय जना ह्विलचियर प्रयोगकर्ता खेलाडी छन् । ह्विलचियर प्रयोगकर्तालाई खेल क्षेत्रमा उत्साहित गर्न राज्यले धेरै काम गर्नुपर्ने ह्विलचियर खेलाडीसमेत रहनुभएका वागमती प्रदेसका सांसद लक्ष्मी घिमिरेले बताउनुहुन्छ । सरकारले राष्ट्रिय खेलाडीलाई मासिक तलबको व्यवस्था गर्नुपर्ने माग आफूले बागमती प्रदेश सभामा पनि उठाएको उहाँ बताउनुहुन्छ ।
नेपालमा समग्र खेल क्षेत्र नै प्राथमिकतामा नपरेकोमा अपाङ्गता भएका खेलाडीहरूको अवस्था राम्रो बनाउन राज्यले कुनै ध्यान नदिएको यो क्षेत्रमा लागेकाहरूको भोगाइ छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९, १५:२७