काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बापतको ५ अर्बभन्दा बढी महसुल उठ्न बाँकी रहेको जनाएको छ । विगत ७ वर्षदेखि महसुलको बक्यौता उठ्न बाँकी रहेको र त्यो रकम ५ अर्ब ६० करोड नाघेको प्राधिकरणले जनाएको छ ।
अहिले देशका अधिकांश सहरका मुख्य सडकमा सडक बत्ती जडान गरिएको छ । तर, त्यसबापतको महसुल भने नपाएको विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अर्थ प्रमुख टोमलाल सुवेदीका अनुसार कतिपय पालिकालाई महसुल भुक्तानीका लागि पत्र पठाउँदा समर्थन पत्र मात्रै उपलब्ध गराउने गरेका छन् । समर्थन पत्र भनेको अहिले प्राप्त भएको सडक बत्ती महसुल तिर्नुपर्ने दायित्व स्थानीय सरकारको हो भनेर समर्थन गर्नु हो । सात वर्षदेखि समर्थन मात्रै प्राप्त भइरहेको तर बक्यौता नउठेको प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा बढी बक्याैता काठमाडाैँ महानगरपालिकाकाे रहेको छ । प्राधिकरणका अनुसार काठमाडाैँ महानगरले २ अर्ब भन्दा बढी महसुल तिर्न बाँकी छ ।
प्राधिकरणका अनुसार देशैभर सडक बत्ती प्रयोग गरे बापत स्थानीय सरकारले महसुल नतिर्दा पाँच अर्ब ६० करोड रुपैयाँभन्दा बढी बक्यौता पुगेको छ । सडक बत्ती प्रयोग गरेबापत सम्बन्धित स्थानीय सरकारले नै महसुल तिर्नुपर्ने व्यवस्था भए पनि पालना भएको छैन ।
स्थानीय सरकारले भने बिजुलीको महसुल वैज्ञानिक नभएकाले महसुल नबुझाएको बताएका छन् । यति मात्रै होइन, यसअघि मन्त्रालय तहबाटै सडक बत्तीको हिसाब मिलान भएकाले अब पनि मन्त्रालयबाट नै हिसाब मिलान हुनेमा उनीहरू ढुक्क छन् । हेटौडा उपमहानगरका आर्थिक प्रशासन महाशाखाका प्रमुख मनोज सुवेदी हालसम्म पालिकाले सडक बत्ति प्रयोग गरेवापत प्राधिकरण महशुल नबुझाएको र यसअघिको जस्तै महसुल सहुलियत पाउने अाशामा रहेको बताउनुहुन्छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले भने सडक बत्तीको महसुल तिर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै यसमा छुट नहुने बताएको छ । तर यसमा सहुलियत भने हुनसक्ने प्रवक्ता मधुप्रसाद भेटवाल बताउनुहुन्छ । स्थानीय सरकारको गुनासो सम्बोधन गर्दै वैज्ञानिक तरिकाले सडक बत्ती जडानका लागि पहल गरिने उहाँले बताउनुभयो ।
रातको समयमा आवतजावत सहज बनाउन र सम्भावित दुर्घटना कम गर्न सडक बत्ती अपरिहार्य हुन्छ । तर, प्राधिकरणले भने महसुल नतिरेकाले विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ अनुसार सडक बत्तीको लाइन काट्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९, १४:४१