काठमाडौं ।
विश्वका विभिन्न देशमा कोरोना विरुद्धको खोप तयार भइरहेको खबरहरू आइरहँदा नेपालमा पनि कहिले खोप आउला भन्ने धेरैको चासो छ ।
कुन देशले बनाएको खोप पहिले आउला र आर्थिक अवस्था कमजोर भएको नेपालजस्तो देशमा कसरी खोप आइपुग्ला भन्ने चासो पनि धेरैको छ ।
सरकारले भने कोरोना विरुद्धको खोप खरिदका लागि आन्तरिक तयारीलाई तिव्रता दिएको जनाएको छ ।
विभिन्न देशमा बनिरहेका खोपलाई सरकारले नजिकबाट हेरिरहेको र खरिदका लागि आवश्यक बजेटको तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले १० देखि १२ अर्ब रकम भएमा पहिलो चरणमा खोप खरिदका लागि श्रोत पुग्ने अनुमान सरकारले गरेको बताउनुभयो ।
उहाँका अनुसार खोप खरिदका लागि कानुन नभएका कारण मन्त्रीपरिषद्को बैठकले अध्यादेश ल्याउने निर्णय समेत गरेको छ ।
सरकारले स्वास्थ्य, अर्थ र परराष्ट्र मन्त्रालयका सचिव सम्मिलित तीन सदस्यीय उच्चस्तरीय समिति बनाएको छ ।
सरकारी तहबाट बनेको यो समितिले खोपको आपूर्ति, भण्डारणदेखि प्रयोसम्मको विषयमा काम गर्ने डाक्टर कार्कीले बताउनुभयो ।
खोप आइसकेपछि कस्ता व्यक्तिलाई प्राथमिकता दिने भन्ने विषयमा मापदण्ड तयार भइरहेको र पहिलो चरणमा अग्रपङ्तिमा खटिनेहरूले प्राथमिकता पाउने पनि उहाँले जानकारी दिनुभयो ।
कोरोना विरुद्धको खोप खदिरका लागि सरकारले गरेको आन्तरिक तयारी, आवश्यक बजेटको व्यवस्था, खोपको भण्डारण र खोप आइसकेपछि कस्ता व्यक्तिले प्राथमिकता पाउँछन् ? कसरी तयार हुँदैछ मापदण्ड ? लगायतका विषयमा साथी गीता चिमोरियाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहाकार डाक्टर कार्कीसँग कुराकानी गर्नुभएको छ ।
उक्त कुराकानीको अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७, ०९:१४