काठमाडाैँ । नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान उन्मुख भएको छ । २ पक्षबिच विवाद समाधानका लागि वर्तमान केन्द्रीय समितिमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गर्ने र विवाद निरूपणका लागि अदालतमा परेको मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिएको हो । सोसाइटीका अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा चन्द्रकला कार्की र केही केन्द्रीय सदस्य मनोनयन गरेको सोसाइटीले जनाएको छ ।
सबै सरोकारवालाहरू सँगको निरन्तर संवाद, छलफल, सहमतिलाई निरन्तरता दिँदै वैधानिक र दीर्घकालीन रूपमा समस्या समाधान गर्न वर्तमान समिति प्रतिबद्ध रहेको अध्यक्ष नेपालले बताउनुभयो । यस्तै केन्द्रीय कार्यसमितिको गठन, निर्वाचन तथा यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाहरू सम्बन्धित निवेदकहरूबाट फिर्ता लिने प्रक्रिया अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटीको विधानमा मुलुकको सङ्घीयतासँग अनुकूलन, समावेशीकरण, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको मापदण्डसँग सामञ्जस्यलगायत आधारमा समसामयिक सुधारका लागि समिति गठन गरि काम थालिएको संस्थाले जनाएको छ ।
धेरै देशमा छुट्टै कानुनद्वारा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरू सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा हालसम्म पनि रेडक्रस ऐन बन्न नसकेको नेपाल सरकारसँग समन्वय र सहयोगका लागि सो समिति गठन गरिएको सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले बताउनुभयो । सोसाइटीको विधान महाधिवेशन आउँदो मङ्सिर २६ र २७ गतेका लागि बोलाइएको छ ।
यसैबिच, नेपाल रेडक्रस सोसाइटीले यस वर्षको बाढी पहिरोबाट प्रभावित करिब पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा खाद्यान्न वितरण गरेको जनाएको छ । यस्तै, बाढी पहिरो प्रभावित जिल्लाहरूमा तत्काल राहत वितरण गर्ने गरी हालसम्ममा ३ करोड १३ लाख ८० हजार रुपैयाँको गैर खाद्य राहत सामग्री जिल्ला शाखाहरूमा वितरणका लागि पठाई सकिएको छ । हालसम्म ३ हजार ८१७ परिवारलाई २ करोड २७ लाख रुपैयाँको नगद र गैर खाद्य राहत सामग्री वितरण गरिसकिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१, १९:४८