काठमाडौँ । आज हरितालिका तीज पर्व पुजाआरधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिकामा व्रत बसी शिवपार्वतीको पूजा,उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वासका साथ तीजमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
सीआईएनसँग कुरा गर्दै समाजशास्त्री डा नम्रता पाण्डेले आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सबै महिलालाई अनुरोध गर्नुभयो ।
आज देशभरका शिवालयहरूमा पुजाका लागि भीड लाग्छ । पशुपतिमा भक्तजनका लागि चारवटा लाइनबाट दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।
सुरक्षा व्यवस्थापन बलियो बनाउन प्रहरीले पशुपति मन्दिरमा कमान्ड पोस्ट स्थापना गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक, एसएसपी हिमालयकुमार श्रेष्ठको नेतृत्वमा पोस्ट स्थापना भएको हो ।
सुरक्षामा उपत्यकामा दुई हजार नौ सय ६६ प्रहरी खटिएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८०, ०९:०२