इटहरी । सुनसरी ४ बाट नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ । बिहीबार सम्पन्न मतगणनामा कार्की एमालेका उम्मेदवार जगदीश कुसियतलाई ११२ मतले हराउँदै विजयी हुनुभएको हो । कुसियतलाई जसपाको पनि समर्थन थियो भने कार्कीलाई सत्तारुढ गठबन्धनका दलको समर्थन थियो ।
केही दिन स्थगित भएर हिजोबाट पुन शुरु भएको थियो । कार्कीले ३० हजार ४८३ र कुसियतले ३० हजार ३७१ मत प्राप्त गर्नुभएको हो । उहाँ अघिल्लो कार्यकालमा पनि सुनसरी क्षेत्र नं. ४ बाटै निर्वाचित हुनुभएको थियो ।
कुसियत सुनसरी जिल्ला इन्चार्ज हुनुहुन्छ । उहाँले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग २०५१ सालको प्रतिस्पर्धामा झिनो मतले हार्नुभएको थियो । उहाँ २०५३ सालको उपनिर्वाचनमा विजयी हुनुभएको थियो । कुसियत २०७४ सालमा क्षेत्र नं. ४ ‘क’ बाट विजयी भएर प्रदेश नं. १ को वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री समेत हुनुभएको थियो ।
यस पटक क्षेत्र नं. ४ मा प्रतिनिधिसभाका लागि २५ जनाको उम्मेदवार बिच प्रतिस्पर्धा भएको थियो । जसमा १२ जना स्वतन्त्र र १३ जना राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा थिए । मतगणनाको सुरुवातका दुई दिन कार्कीले र त्यसपछिका तीन दिन लगातार एमालेका कुसियतले अग्रता लिनुभएको थियो ।
मंसिर १० गते मत गणनामा नेपाली काँग्रेसले शंका गरेपछि मतगणना स्थगित हुन पुग्यो । सर्वदलीय बैठक राख्दा पनि निर्णय जुट्न नसकेपछि कार्कीले निर्वाचन आयोगमा उजुरी दिनुभयो । निर्वाचन आयोगले सोमबार साँझ मतगणना जारी राख्न निर्णय गरेपछि भने मङ्गलवार दिउँसो चार बजेदेखि गणना सुरु भएको हो । मङ्गलवार देखी गणना पुनः सुचारु हुँदा सुरुवातमा कार्कीले अग्रता लिए पनि बिच–बिचमा कुसियतले पनि अग्रता लिनुभएको थियो । जसले गर्दा कसले जित्छ ? भनेर अड्कलबाजी लगाउन गाह्रो परेका बेला अन्तिममा कार्कीको जित सम्भव भएको हो ।
२०५६ सालको संसदीय निर्वाचन र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काँग्रेसका कार्की भोजपुरबाट झिनो मतान्तरले हार्नुभएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा उहाँ समानुपातिकमा बस्नुभएको थियो । २०७४ सालको निर्वाचनमा भने एमालेका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतान्तरले हराएर कार्की विजयी हुनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९, ११:५८