काठमडौँ । करिब दुई हप्ता हुन लाग्यो, राष्ट्रिय सभाले आफ्ना बैठकहरू शून्यमा बोलाउन छोडेको छ । अर्थात यसअघि ‘११ बजे, ३ बजे’ यसरी बोलाउने गरेको थियो ।
तर हिजोआज राष्ट्रिय सभा बैठक १० बजेर ५९ मिनेट, १२ बजेर ५९ मिनेटमा बोलाउने गरिएको छ ।
आजका लागि पनि राष्ट्रिय सभाको बैठक १२ बजेर ५९ मिनेटमा डाकिएको छ ।
ज्योतिशशास्त्रहरूका अनुसार घडी,नक्षत्रका आधारमा विशेष वा शुभकार्य कहिलेकाहीँ शून्य समयमा नगर्न भनिन्छ ।
तर राष्ट्रिय सभाले भने ज्योतिशशास्त्रीय भन्दा पनि सांसदहरूलाई समयको परिपालनामा जोड दिन बैठकको समय निर्धारणमा नयाँ अभ्यास गर्न खोजेको पाइएको छ ।
संसद सचिवालयका एक अधिकारीले सीआईएनसँग भने,‘शून्यमा बोलाउँदा माननीयज्यूहरूलाई सामान्य लाग्ने र समयमा पुग्न पनि कहिलेकाही नसक्ने देखियो । ५९ मा बैठक बस्दा सम्झना भइराखोस् भन्ने उद्धेश्यले पनि यस्तो अभ्यास गर्न खोजिएको छ ।’
सांसदहरूले पनि बैठक ५९ मा राख्दा जतिसुकै व्यस्त भए पनि याद हुन थालेको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९, ०७:५१