काठमाडौँ । इटालीका टेलिभिजन पत्रकार तथा टुर अपरेटरहरुले नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउने प्रतिवद्धता जनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग सिंहदरवारस्थित मन्त्रालयमा भेटेर इटालीको ट्राभल टिभीका उत्पादक, वृतचित्र निर्माता तथा टुर अपरेटरहरुले नेपाल बारे इटालीमा प्रचारप्रसार गर्न इच्छुक रहेको बताएका हुन् ।
नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता विश्वभर चिनाउन र विभिन्न रमणीय ठाउँहरुप्रति विदेशी पर्यटकको आकर्षण बढाउन नेपाल बारे निशुल्क रुपमा वृतचित्र तथा टेलिभिजन कार्यक्रम निर्माण गर्ने उनीहरुको भनाइ थियो ।
नेपालबाट इटालीको सीधा उडान नहुनु तथा दूतावास नहुँदा नेपाल आउन चाहने इटालीका पर्यटकलाई असुविधा भएको उल्लेख गर्दै यस बारेमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उनीहरुको जोड थियो ।
इटाली तथा मोरक्कोमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका ब्रुनो अलेगीले नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउन आफूले सहयोग गर्ने बताउनुभयो ।
टेलिभिजन कार्यक्रम निर्माता उबाल्डो पेट्रोसिनोले इटालीको स्थानीय भाषामा सन्देशहरु निर्माण गरी नेपालबारे प्रवर्द्धन गर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले नेपाल पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त रहेको बताउनु हुँदै पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्न उपयुक्त मुलुक रहेको धारणा राख्नुभयो ।
नेपाल पर्वतीय पर्यटनका लागि मात्र नभएर प्राकृतिक सुन्दरता, सम्पदा, जातीय तथा जैविक विविधता जस्ता कारणले बाह्रै महिना पर्यटनका लागि योग्य छ भन्ने सन्देश विश्वमा प्रवाह गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९, १४:२५