काठमाडौँ । नेपाली काँग्रेसको विभिन्न तहको अधिवेशनमा युवाको प्रतिनिधित्व बढेको छ ।
काँग्रेसको महाधिवेशनका लागि वडा, पालिका र क्षेत्रको अधिवेशनमार्फत प्रतिनिधिहरू चुनिने क्रम अहिले चलिरहेको छ ।
केन्द्रमा पनि युवा नेतृत्व आउनुपर्ने युवा नेताहरूले बताएका छन् । नवलपरासी पश्चिमको प्रदेश सभा क्षेत्र २ को 'क' बाट निर्वाचित यामप्रसाद भुसालले आफ्नो समितिमा ६० प्रतिशत युवा आएको दाबी गर्नुभयो ।
दोलखाको बैतेश्वर गाउँपालिका कार्य समिति उपसभापतिमा निर्वाचित प्रभुशरण मोक्तानले पालिकाका पाकापुराना पुस्ताबाट नै युवालाई नेतृत्व हस्तान्तरण गनुपर्ने आवाज उठेका कारण युवाले अवसर पाएको बताउनुभयो ।
१५ हजार ५ सय क्रियाशिल सदस्य रहेको इलाममा ३५ प्रतिशतभन्दा बढी युवाहरू रहेका छन् ।
वडा, पालिका र प्रदेश क्षेत्रको निर्वाचनमा निर्वाचित हुने युवाहरूको सङ्ख्या पनि बढेको इलाम जिल्ला सभापति हिमालय कर्माचार्यको भनाइ छ ।
नेपाली काँग्रेसमा युवा नेतृत्वको बहस चलेको भए पनि पदाधिकारीमा युवाले अझैँ अवसर पाएका छैनन् ।
नेपालमा युवाहरूको सङ्ख्या ४० प्रतिशतभन्दा बढी छ । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले काँग्रेसको केन्द्रीय नेतृत्वमा यसपटक युवा आउने सम्भावना बढेको बताउनुहुन्छ ।
काँग्रेस नेता महेश आचार्य पार्टीका तल्ला इकाइहरुमा युवाहरुको सहभागिता बढेको भए पनि महाधिवेशन प्रतिनिधिको रुपमा छानिएर आउनेहरुको विवेकको आधारमा केन्द्रमा युवा सहभागिताको निर्क्यौल हुने बताउनुहुन्छ ।
काँग्रेसको पछिल्लो तथ्याङ्क अनुसार देशभर झण्डै ९ लाख क्रियाशील सदस्य रहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८, १२:०१