पर्वत । पर्वतको सुन्दरेखोलामा आएको बाढीले बगाएर वेपत्ता भएको गाडी मोदीखोलाको बीच भङ्गालोमा भेटिएको छ । बाढीले बगाएको गाडी भेटिए पनि त्यसमा सवार ३ जनाको अवस्था पत्ता लाग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार सुन्दरेखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ खण्डमा पर्ने पुलसहित गाडी बगाएको हो । बाढीले बगाएको गाडी ५ सय मिटर तल भेटिएको हो ।
गाडीमा सवार लामा कन्स्ट्रक्सनका साईट इन्चार्ज राजाराम आचार्य र चालक ईन्द्र थारु अनि स्थानीय एक व्याक्ति वेपत्ता भएको जानकारी प्रहरीले पाएको छ ।
प्रत्यक्षदर्शीले तीन जना गाडीमा रहेको बताएका छन् । मोदीखोलामा भेटिएको गाडी निकाल्न सेनाको उद्धार टोली खटिएको छ । बाढीले स्थानीय विश्व श्रेष्ठ, सकुन्तला क्षेत्री, सीमा परियार र लक्ष्मी पोखरेलको घर बगाएको छ भने अन्य दर्जनभन्दा बढी घरमा आङ्शिक क्षति पुगेको छ ।
मध्यपहाडी लोकमार्ग पुलसहित भत्किएपछि यातायात सेवा अबरुद्ध भएको छ । दोबिल्ला-फलेवास सडक खण्ड पनि पूणर् रुपमा बन्द भएको छ ।
बाढीले यूनाईटेड मोदी हाईड्रोपावरको नहर पनि भत्किएको छ ।
प्रकाशित मिति: बुधबार, असार २३, २०७८, १०:४६