भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाभरिका किशोरकिशोरीहरूले सामाजिक सञ्जालको सही प्रयोग गर्ने र दुरुपयोग रोक्नका लागि सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
चाँगुनारायण नगरपालिकाको आयोजनामा हेलमेटडाँडामा भएको "नगर तथा वडा बाल सञ्जाल एवं वडा बालमैत्री सहजकर्ताका लागि आयोजित सामाजिक सञ्जालका फाइदा, असर र कानुनी व्यवस्था" विषयक प्रशिक्षण कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण खबर र मिथ्या सूचना रोक्नका लागि पनि सही जानकारी दिन सहयोग गर्ने उनीहरूको भनाइ छ ।
सामाजिक सञ्जालको सही प्रयोग गरेर सूचना तथा जानकारी आदानप्रदान गर्न सकिने प्रशिक्षणबाट थाहा पाएको बताउँदै उनीहरूले आफूले सिकेको ज्ञान र सीपकका बारेमा अभिभावक तथा अरु साथीहरूसँग संवाद गर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख नीला घिमेरेले किशोरकिशोरीहरूमा सामाजिक सञ्जालको उपयोग तथा दुरुपयोगका बारेमा सचेतना जगाउनका लागि प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो ।
प्रशिक्षणमा सिकेको सीपलाई व्यावहारिक जीवनमा लागु गर्न पनि उहाँले सहभागीहरूलाई अनुरोध गर्नुभयो ।

बालमैत्री तथा सङ्घसंस्था समन्वय उपशाखा प्रमुख अनिता कुमारी पौडेलले सामाजिक सञ्जाल सबै उमेर समूहको रोजाइमा परे पनि उपयोगको तरिका, दुरुपयोग गर्दा हुने दण्ड तथा सजायका बारेमा किशोरकिशोरीलाई जानकारी दिन प्रशिक्षणले सहयोग गर्ने बताउनुभयो ।
तालिममा नगरपालिकाका सबै वडाका गरी ७० भन्दा धेरै किशोरकिशोरीको सहभागिता थियो।
उनीहरूलाई प्रशिक्षक, वरिष्ठ मनोविमर्शकर्ता विपन शाहलगायतले सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३