सङ्घीय राजधानीको प्रमुख कृषि बजार कालीमाटी बजारमा दैनिक रुपमा उत्पादन हुने फोहोर व्यवस्थापनमा झण्डै बार्षिक एक करोड खर्च भईरहेको छ ।
तर त्यसबाट प्रतिफल लिन भने सकिएको छैन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुासर बजारमा दैनिक रूपमा करिब १० देखि १५ टनसम्म फोहरमैला सङ्कलन हुने गरेको छ। जसको व्यवस्थापनका लागि समितिले मासिक ७ लाख ५० हजार खर्च भएको समितिले जनाएको छ ।
बजारमा मुख्यत ः फलफूल तथा तरकारीको कारोबार हुने भएकाले त्यहाँ उत्पादन हुने फोहोरको ठुलो हिस्सा कुहिने प्रकृतिका हुन्छन् । जैविक फोहोरबाट गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गर्न सकिने सम्भावना रहँदा रहँदै, त्यसको कुनै प्रयोग नभईरहेको कृषि विज्ञहरु बताउछन् । उल्टो फोहोर व्यवस्थापन भने खर्च मात्रै बढ्दै गएको छ ।
समितिका सुचना अधिकारी विनय श्रेष्ठका अनुसार हालसम्म समितिसँग कुहिने फोहोरबाट मल उत्पादन गर्ने कुनै योजना छैन । फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई समेत समेटिएको भए पनि, यसको दीर्घकालीन समाधानबारे कुनै ठोस कार्यक्रम नभएको श्रेष्ठले सीआईएनसँग बताउनुभयो । लाखौ खर्च गर्ने संस्थासँग पनि उत्पादन हुने फोहोरबाट लाभ लिन सक्ने कुनै योजना नहँनु नीति निमार्ण र काार्यान्वयनमा गम्भीर कमजोरीको सङ्केत भएको कृषि विज्ञ कृष्ण पौडेलले बताउनुभयो ।
कृषि विज्ञहरुका अनुसार कालीकाटी बजारबाट निस्कने जैविक फोहोर व्यवस्थाबाट ठुलो मात्रामा प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ । जसले एकातर्फ फोहोर व्यवस्थापनको खर्च घटाउछ भने अर्कातर्फ उत्पादन गरिएको मल विक्रीबाट आम्दानी गर्न सकिन्छ । यसले प्राङ्गारिक खेति प्रणाली विस्तारमा समेत टेवा पुग्ने विज्ञको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२