काठमाडौँ । मधेशमा परेको खडेरीले सरकारले आगामी दुई वर्षमै धानमा आत्मनिर्भर बन्ने घोषणा गरेको लक्ष्यमा गम्भीर चुनौती थपेको छ।
नेपाल अझै पनि आधारभूत खाद्यान्न धान चामलमा आयातमै निर्भर बनेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्र नेपालले करिब सात लाख ७५ हजार मेट्रिक टन धान र चामल आयात गरेको छ, जसको मूल्य ४० अर्ब १८ करोड रुपैयाँभन्दा बढी छ।
सो अवधिमा बासमती चामल मात्रै नेपालले करिब सात अर्ब ५२ करोड रुपैयाँ बराबर आयात भएको छ भने अन्य चामल १६ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी आयात गरिएको छ। त्यस्तै धान र धानको बिउ साढे २१ अर्ब रुपैयाँभन्दा बढी आयात भएको छ। कनिका, चिउरा र मुरही जस्ता वस्तु पनि आयात हुने सूचीमा रहेका छन्।
सरकारले भने धानमा आत्मनिर्भर बन्ने नीति पूर्ण रूपमा छोडेको छैन। चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा दुई वर्षभित्र मुलुकलाई धानमा आत्मनिर्भर बनाउने घोषणा गरिएको छ।
यसका लागि विशेष गरी चैते धानमा क्षेत्र विस्तार गर्ने र वर्षे धानमा उत्पादकत्व वृद्धि गर्ने योजना बनाइएको छ। तर यो वर्ष मधेशमा परेको खडेरीका कारण उत्पादन घट्ने अनुमान गरिँएको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ, जसले आत्मनिर्भरता लक्ष्यलाई थप चुनौती दिएको छ।
कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार देशका अन्य भागमा धान रोपाईमा खास असर परेको छैन । तर अन्नको भण्डार मधेशमा नै धान रोपाई सूस्त छ भने रोपिएका धान समेत सुकेका छन् ।
२०५० सालसम्म नेपालले आफ्नै उत्पादन दक्षिण कोरिया जस्ता देशमा निर्यात गर्ने गरेको थियो। तर पछिल्ला दुई दशकयता बढ्दो आयात र घट्दो उत्पादनले नेपाल धानमा समेत परनिर्भर बन्न पुगेको छ।
नेपाल धान उत्पादनमा अझै पर्याप्त सम्भावना भएको देश भए पनि जलवायु परिवर्तन, अनियमित मौसमी वर्षा, सिंचाइ अभाव, बीउ–विजन र प्रविधि प्रयोगको कमीले उत्पादन स्थिर हुन सकेको छैन। सरकारले आत्मनिर्भरता लक्ष्य निर्धारण गरे पनि उत्पादन लागत घटाउने, किसानलाई प्रोत्साहन दिने, सिंचाइ र बीउमा लगानी बढाउने तथा बजार व्यवस्थापनमा ठोस कदम नचालिएसम्म लक्ष्य पूरा गर्न कठिन हुने विशेषज्ञहरूको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२