काठमाडौँ । दैनिक औसतमा झण्डै चार जना नेपाली युवाले विदेशमा रोजगारीका क्रममा ज्यान गुमाउन थालेका छन् ।
वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै वैदेशिक रोजगारीका क्रममा १ हजार ४ सय १ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ।
जसमा सवैभन्दा धेरै शव २६ देखि ३० वर्षका युवाहरूको छ । यो उमेर वर्गका २ सय ३३ जना युवाको शव स्वदेश ल्याइएको बोर्डले जनाएको छ ।
ज्यान गुमाउने दोस्रो उमेर समूहमा ३१ देखि ४० वर्षका श्रमिकहरू छन् ।
३१ देखि ३५ वर्ष उमेरका २ सय २६ जना र ३६ देखि ४० वर्ष उमेरका २ सय २५ जनाको शव परिवारलाई बुझाइएको छ। ४१ देखि ४५ वर्षका २ सय १५ जना, २१ देखि २५ वर्षका १ सय ७२ जना र ४६ देखि ५० वर्षका १ सय १७ जना पनि मृत्यु भएको छ ।
२० वर्षभन्दा कम उमेरका २९ जना किशोर पनि विदेशमा रोजगारकिा क्रममा मृत्यु भएको छ ।
सबैभन्दा उत्पादनशील पुस्ता गुमाउँदैछ नेपाल
देशको सबैभन्दा उत्पादनशील उमेर समूहका नागरिकहरू वैदेशिक रोजगारमा ज्यान गुमाइरहेका छन्। उमेर समूहको संरचना हेर्दा ७५ प्रतिशतभन्दा बढी मृत्यु २० देखि ४५ वर्षबीचका व्यक्तिको भएको छ ।
यसले जनशक्तिको दीर्घकालीन क्षति मात्र होइन, घरपरिवार, समाज र राष्ट्रको आर्थिक स्थायित्वमा प्रत्यक्ष असर पार्ने जनसङ्ख्याविद्हरुको दाबी छ ।
विभागका अनुसार मृतकका परिवारलाई राहतस्वरूप सरकारले १० लाख रुपैयाँका दरले सहयोग गर्दै आएको छ।
गत वर्ष १ हजार ५ सय १७ जना मृतकका परिवारलाई कुल १ अर्ब २ करोड ३४ लाख रुपैयाँ राहत रकम प्रदान गरिएको छ। तर समस्या राहतले मात्रै नसुल्झिने विज्ञहरु बताउछन् ।
बर्सेनि यति धेरै श्रमिकले विदेशमा ज्यान गुमाउनु भनेको समग्र वैदेशिक रोजगार प्रणालीमा सुधारको खाँचो रहेको श्रम विज्ञ गणेश गुरुङ बताउनुहुन्छ ।
बैदेशिक रोजगार बोर्डका सूचना अधिकारी गुरुदत्त सुवेदीकाअनुसार मृत्यु दर घटाउन सरकारले टेलिमेडिसिन सेवासँगै सचेतनाका कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।
शव ल्याउने जिम्मेवारी राज्यको काँधमा
यो अवधिमा वैदेशिक रोजगार बोर्डले ४८१ जना श्रमिकको शव विदेशबाट ल्याउने काम गरेको छ भने १ हजार ८६ जना श्रमिकको शव परिवारसम्म पुर्याउन भूमिका निभाएको छ ।
विदेशमा काम गर्ने सपना बोकेर गएका युवाको जीवन सपनामै टुंगिनु दुःखद भएपछि आवश्यक सर्तकताको अभावमा मृत्यु बढेको बोर्डको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२