काठमाडौं — सामाजिक सुरक्षा प्रणालीबारे आम नागरिकमा चेतना फैलाउन सञ्चारमाध्यमको भूमिका अझै प्रभावकारी हुनुपर्नेमा जोड दिइएको छ। हालै काठमाडौँको बौद्धमा सम्पन्न दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रममा सहभागी विज्ञ र सरोकारवालाहरूले सामाजिक सुरक्षाको पहुँच, कार्यान्वयन, चुनौती र सुधारका सम्भावनाबारे गहन छलफल गरेका थिए।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, सेभ द चिल्ड्रेन र वि सोसियल मुभमेन्टको सहकार्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले नेपालको सामाजिक सुरक्षाको समग्र अवस्थाको समीक्षा गर्दै, यसमा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सानुबाबु अधिकारीले गैर–योगदानमा आधारित सामाजिक सुरक्षाबारे प्राविधिक पक्ष र कानुनी आधार प्रस्तुत गर्नुभयो ।
सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयन र यसबाट बिरामी, सुत्केरी, अशक्तता, बुढेसकाल, बेरोजगारीजस्ता अवस्थामा पाइने सहयोगबारे स्पष्ट पार्नुभयो ।
यस्तै, सेभ द चिल्ड्रेनका हेमन्त दँगालले पछिल्ला दिनमा विपद्का प्रभाव र त्यससँग सम्बन्धित सामाजिक सुरक्षाको आवश्यकताबारे धारणा राख्नुभयो ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले जनसाधारणमा अझै सामाजिक सुरक्षाको जानकारी सीमित भएको बताउँदै, सञ्चारमाध्यमहरू यसमा सकारात्मक हस्तक्षेपकर्ता बन्न सक्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले सामाजिक सुरक्षालाई विपद्सँग जोडेर योजनाबद्ध रूपमा अघि बढाउनु पर्ने, सञ्चारकर्मीहरूलाई जानकारीमूलक सामग्री उत्पादनतर्फ उन्मुख गरिनु पर्ने र नीतिगत तहमा पनि सुधार आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङ, पिपुल इन निडका नवीन श्रेष्ठ, र कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेल लगायतले आ–आफ्ना विषयमा प्रस्तुति राखेका थिए ।
३० जना पत्रकार सहभागी कार्यक्रममा समूहगत छलफल, प्रणालीगत कमजोरीको पहिचान, सुझाव संकलन, र नीति वकालतका उपायहरूबारे गम्भीर बहस भएको थियो। सहजीकरण राजेन्द्र चौलागाईंले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२