काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको सङ्ख्या १४ प्रतिशतले बढेको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्षमा रोजगारीका लागि विभिन्न देश गएका १ हजार ३ सय ७८ जना नेपालीको मृत्यु भएको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलब ०७ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षमा १ हजार २०८ जनाको मृत्यु भएको थियो ।
विभागकाअनुसार गत वर्ष विभिन्न रोग लागेर २६१ जना नेपालीको मृत्यु छ भने १९२ जनाले आत्महत्या गरेका छन् ।
१ सय ९१ जनाको प्राकृतिक मृत्यु भएको छ भने हृदयाघातबाट १२० जना, दुर्घटनामा परी १ सय ५७ जनाको मृत्यु भएको छ ।
जान लागेको देशको भूगोल र वातावरण, कामको दक्षता, खानपान र व्यायाममा ध्यान नपुग्दा बर्सेनि मृत्युदर बढिरहेको विज्ञहरु बताउँछन् ।
विदेशमा रहेका नेपाली कामदारको मृत्युदर घटाउनको लागि विभिन्न सीपमुलक तालिम दिनेदेखि गन्तब्य मुलुकको अवस्थाबारे जानकारी दिनेसम्मका काम भइरहेको बोर्डका प्रवक्ता टीकाराम ढकालले सीआईएनसँग बताउनुभयो ।
जसअनुसार यसपाली पनि २० हजार युवालाई तालिम दिने तयारी गरिएको उहाँले बताउनुभयो । सबै स्थानीय तहले पनि विभिन्न निकायसँग मिलेर यसबारेमा काम गरिरहेका उहाँको दाबी छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१, ०९:३२